आज: | Thu, 13, May, 2021
FLASH NEWS

फागु पूर्णिमाको पौराणिक महत्व


रासस १५ चैत्र २०७७, आईतवार २०:५० मा प्रकाशित ३७९ पाठक संख्या

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ ।

यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सीजस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउनेजस्ता विकृति पनि कम हुँदै गएको छ ।

फाल्गुन शुक्ल अष्टमीका दिन चैत ८ गते गद्दी बैठकअघि गाडिएको लिङ्गो फाल्गुन शुक्ल पूर्णिमाका दिन अर्थात् आज बेलुकी ८:३६ बजे ढाल्न शुभ हुने साइत समितिले दिएको छ । लिङ्गो ढालेर आजै बेलुकी ८:५६ मा दहन गर्नुपर्ने समितिले जनाएको छ । चिरोत्थानका लागि मयलको हाँगो काट्ने, ल्याउने र गाड्ने काममा वसन्पुर क्षेत्रका मानन्धर समाजका सदस्यहरू सक्रिय हुने परम्परा रही आएको छ । आज चीर ढालेर टुँडिखेल लगी जलाएपछि फागु पर्व सकिन्छ । यस वर्ष पहाडी जिल्लामा आज र तराईका जिल्लामा भोलि सोमबार फागु पर्व मनाइँदै छ ।