आज: | Thu, 13, May, 2021
FLASH NEWS

कर्णाली प्रदेशमा कोरोना सङ्क्रमित बढ्दै


नेपाल आवाज १७ बैशाख २०७८, शुक्रबार १५:५९ मा प्रकाशित १५७ पाठक संख्या

कर्णाली प्रदेशमा कोरोना सङ्क्रमण तीव्र गतिमा बढेको छ । कोभिड–१९ को विश्वव्यापी सङ्कटको असर कर्णालीमा पनि दैनिक बढ्न थालेको छ । समुदायस्तरसम्म सङ्क्रमण फैलिनाका साथै कोरोनाकै कारण मृत्यु पनि हुन थालेपछि नागरिकमा त्रास फैलिएको छ ।

कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरण गर्न सुर्खेतमा एक साता अघिदेखि सरकारी तथा निजी विद्यालयहरु बन्द भइसकेका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतले अत्यावश्यक क्षेत्र र काम कारवाहीको तालिका सार्वजनिक गर्दै यही वैशाख १४ देखि २१ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । कर्णालीका अन्य जिल्ला प्रशासन कार्यालयले पनि विभिन्न कार्यक्रम, हिँड्डुल तथा आवतजावतमा भीड हुन नदिन कडाइ गरेका छन् ।

कोरोना सङ्क्रमण अत्यधिक प्रभावित भएको भारतबाट ज्यालादारी काम गरेर फर्केका कर्णालीका नागरिकबाट सङ्क्रमण बढ्ने सम्भावना अत्यधिक रहेकाले गम्भीरताका साथ बुझेर कर्णाली प्रदेश सरकारले प्रवेश नाकामा कडाइ गरेको छ । यद्यपि, सङ्क्रमण दर भने घटेको छैन । एक सातादेखिको अवस्थालाई नियाँल्दा कर्णालीमा दैनिक ६० देखि ७५ प्रतिशतको दरले कोरोनाका सङ्क्रमित बढेको देखिएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्राडा डम्बर खड्काले जानकारी दिए । “यो एक÷दुई दिनमा केही मात्रामा घटे पनि ६० प्रतिशतभन्दा तल सङ्क्रमण दर जान सकेको छैन”, उहाँले भन्नुभयो, “सङ्क्रमितहरुले अस्पताल भरिभराउ हुन थालेको छ । यो आपत्कालीन अवस्थामा जनशक्ति अभाव हुँदा काम गर्न पनि समस्या भएको छ ।” उहाँका अनुसार कर्णालीमा बुधबार एकैदिन ३११ कोरोना सङ्क्रमण थपिएका छन् । जिल्लामा आइसियु ३५ र भेन्टिलेटर पनि आवश्यकता अनुसार तयारी अवस्थामा रहेको उल्लेख गर्दै उहाँले उपकरण सञ्चालन गर्ने जनशक्ति भए १०० वटा आइसियु पनि सञ्चालन गर्न सकिने बताउनुभयो ।

केही दिनमै अस्पतालको नवनिर्मित भवनमा सर्ने र आफ्नै प्लान्ट सञ्चालन गरी काममा सहजता ल्याउने उनको भनाइ छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा १४३ र ¥यापिड एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ । सङ्क्रमण पुष्टि भएकामध्ये २१५ जना सुर्खेतका मात्र छन् । निर्देशनालयका अनुसार सङ्क्रमितमा दैलेखका ३२, सल्यानका २९, कालीकोटका १०, रुकुम पश्चिमका नौ, जुम्लाका १३, जाजरकोटका सात, डोल्पाका एक र अन्य प्रदेशका तीनजना रहेका छन् । योसँगै कर्णाली प्रदेशमा कूल सङ्क्रमित हुनेको सङ्ख्या आठ हजार ८९५ पुगेको छ ।

कर्णालीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ९८१ पुगेको छ । तीमध्ये सुर्खेतमा ६१६ जना रहेको स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ । हालसम्म कर्णालीमा पिसिआरबाट ९९ हजार २९८ र एन्टिजेन्ट विधिबाट छ हजार ४६० जनाको परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा पाँचजना डिस्चार्ज हुँदा कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या सात हजार ५३८ रहेको छ । प्रदेशभरि गरेर पछिल्लो २४ घण्टामा २३० कोरोनाका बिरामी आइसोलेशनमा छन् । निर्देशक खड्काका अनुसार प्रदेश अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका सङ्क्रमितहरुको अवस्था अझ बढी गम्भीर रहेको छ ।