आज: | Thu, 13, May, 2021
FLASH NEWS

बझाङमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु   


नेपाल आवाज २० बैशाख २०७८, सोमबार १२:२४ मा प्रकाशित १४५ पाठक संख्या

यहाँ थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्ला अस्पतालको कोरोना वार्डमा उपचारका क्रममा रहेकी जयपृथ्वी नगरपालिका–३ की ५५ वर्षीया महिलाको ज्यान गएको हो । सात दिनदेखि बिरामी रहेकी महिला आइतबार मात्र जिल्ला अस्पताल भर्ना भएकी थिइन् ।

अस्पतालमा भर्ना भएपछि उनमा कोरोना पोजेटिभ देखिएको जिल्ला अस्पतालका डा मिलन खड्काले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको आइतबार राति ११ः०० बजे ज्यान गएको स्वास्थ्य कार्यालयका कोरोना सम्पर्क व्यक्ति नारायण जोशीले बताउनुभयो ।

यसैबीच एक अर्का कोरोना सङ्क्रमितको पनि ज्यान गएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि घर जाने क्रममा बीच बाटोमा नै उनको आइतबार राति १२ः०० बजे ज्यान गएको उनका आफन्तले जानकारी दिएका छन् । जिल्ला अस्पतालमा यही वैशाख १८ गते कोरोना जाँच गराउँदा रिपोर्ट पोजेटिभ आएको र १९ गते उनी तल्कोट गाउँपालिका–१ स्थित घर जानलाई सदरकमुकाम चैनपुरबाट हिँडेकी थिइन् । साँझ घर जाने क्रममा अबेर भएपछि उनी आफन्तको घरमा बसेको र राति १२ः०० बजे उनको मृत्यु भएको आफन्तले जनकारी दिएका छन् ।

कोरोना पोजेटिभ भएपछि होम आइसोलेशनमा बस्ने भन्दै उनी अस्पतालबाट निस्किएकी थिइन् । घर नआएर आइसोलेशनमा बस्नु भनेर भनेको भए पनि गाडी बुक गरेर घर आएको तल्कोट–१ का वडाध्यक्ष गोपाल धामीले बताउनुभयो । आफूले प्रहरीलाई खबर गरेर घर आउन नदिनू भनेर जानकारी गराएको भए पनि मृतक लेप्रहरीलाई छलेर घर आएको वडाध्यक्ष धामीले बताउनुभयो ।

जिल्लामा आइतबारसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ भने कोरोना सङ्क्रमित हुनेको सङ्ख्या २०४ पुगेको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्लामा सोमबार बिहान १ः०० बजेदेखि निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको पूर्ण पालना गर्दै सुरक्षित रहन सबैमा जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले अनुरोधसमेत गरेको छ ।