आज: | Thu, 13, May, 2021
FLASH NEWS

जबर्जस्ती करणीका फरार १० वर्षपछि पक्राउ  


नेपाल आवाज २० बैशाख २०७८, सोमबार १३:२३ मा प्रकाशित १३९ पाठक संख्या

सङ्खुवासभामा जबर्जस्ती करणी गरी फरार भएका प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । जबर्जस्ती करणी कसुरमा अदालतबाट दोषी ठहर भएका चैनपुर नगरपालिका–१० का ४३ वर्षीय गणेशबहादुर भनिने लेकबहादुर अधिकारीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

दश वर्षअघि १३ वर्षीय बालिकालाई जबर्जस्ती करणीको आरोपमा फरार अधिकारीलाई विशेष सुराकीका आधारमा सुनसरीको खनारबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगराज खतिवडाले बताउनुभयो । अधिकारीले २०६८ माघ १२ गते १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार भएका थिए ।

फरार भएका अधिकारीलाई जिल्ला अदालत चैनपुरले १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको मुद्दामा २०७२ माघ १८ गते १२ वर्ष कैद सजाय तोकेको थियो । प्रतिवादी अधिकारीलाई आइतबार जिल्ला अदालत चैनपुर पेश गरी आइतबार नै कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय चैनपुरले लागुऔषध मुद्दामा फरार प्रतिवादीलाई समेत पक्राउ गरेको छ । प्रहरीले चैनपुर–४ का ५३ वर्षीय तिलबहादुर तामाङलाई यही वैशाख ६ गते पक्राउ गरी कारागार चलान गरेको प्रहरी निरीक्षक खतिवडाले बताउनुभयो । जिल्ला अदालत चैनपुरले २०७६ जेठ १५ गतेको फैसलाले लागुऔषध मुद्दामा चार महिना २४ दिन कैद र रु पाँच हजार जरिवानाको सजाय तोकेको थियो ।