आज: | Wed, 28, Jul, 2021
FLASH NEWS

कोरोनाविरुद्धको खोप हेलिकप्टरबाट


नेपाल आवाज ७ असार २०७८, सोमबार १८:४४ मा प्रकाशित २९५ पाठक संख्या

मनाङ । मनाङमा कोरोना भाइरस विरुद्धको खोप हेलिकप्टरबाट ल्याइएको छ । जिल्ला स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार नासो गाउँपालिकाका नागरिकलाई लगाउन लगिएको खोप बाढीपहिरोको चपेटामा परेपछि हेलिकप्टरबाट ल्याइएको हो । खोप नासो गाउँपालिका वडा नम्बर ४ स्थित अस्थायी स्वास्थ्य चौकीमा सुरिक्षत तरिकाले राखिएको स्वास्थ्य प्रमुख आचार्यले बताउनुभयो ।

 

बाढीपहिरोमा परेपछि नासोका नागरिक कोरोना भाइरस विरुद्धको खोप लगाउनबाट बञ्चित भएका छन् । खोप लगाउने भनिएको दिन नै अविरल वर्षाका कारण मस्र्याङ्दी नदीमा आएको बाढीपहिरोले नासो क्षेत्र डुवानमा परेको हो ।
मनाङमा ६ हजार नागरिकलाई पहिलो र दोस्रो चरणमा एक हजार नौ सयले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएका छ । अझै तीन हजार तीन सय जनालाई खोप लगाउन बाँकी रहेको स्वास्थ्य प्रमुख आचार्यले बताउनुभयो । जिल्लाको चामे गाउँपालिकामा दोस्रो चरणको खोप पनि लगाइसकिएको छ ।

 

सोमबार नार र फू गाउँमा ७० डोज भेरोसिल र २५ डोज कोभिशिल्ड खोप हेलिकप्टर मार्फत लगिएको स्वास्थ्य प्रमुख आचार्यको भनाइ छ । नार्पाभूमिमा पहिलो चरणमा १ सय ५० डोज खोप लगाइएको थियो । दोस्रो चरणमा १ सय ९० जनालाई खोप लगाइने छ । यस्तै जिल्लामा बाढीपहिरो पश्चात् आउनसक्ने विभिन्न खालका महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य कार्यालयले काम अगाडि बढाएको छ । बाढीपहिरो गएपछि जिल्लामा शुद्ध खानेपानीको अभाव देखिएको छ ।
बाढीपहिरोले ठाउँठाउँमा खानेपानीको पाइपहरु बगाएको छ ।

त्यस कारणले पनि अहिले यहाँका नागरिक आकाशे पानी खाएर बस्न बाध्य भएको स्वास्थ्य प्रमुख आचार्यले बताउनुभयो । आकाशे पानी खाएर बस्दा स्वास्थ्यमा असर पर्ने भएकाले पानीमा क्लोरिन ट्याब्लेटको माध्यमबाट पानी शुद्धीकरण गरिएको छ ।