आज: | Fri, 22, Oct, 2021
FLASH NEWS

पितृप्रतिको श्रद्धा भक्तिलाई रोकेन कोरोनाले


नेपाल आवाज २२ भाद्र २०७८, मंगलवार १६:१४ मा प्रकाशित ४३९ पाठक संख्या

(रासस) ः भगवान् शिव र पार्वतीबीच केही विषयमा विवाद भएपछि मृगरुप लिई शिव भगवान् पशुपति क्षेत्रस्थित मृगस्थलीमा रहनुभयो । एकाएक देवादिदेव महादेव गायब भएपछि देवताहरुमा खलबल भयो । शिव भगवान्को खोजी शुरु भयो । महादेव मृगस्थलीमा मृगको रुपमा विचरण गरेको देवताहरुले थाहा पाएपछि खोजीमा ब्रह्मा, विष्णु र इन्द्र निस्कनुभयो । मृगस्थलीमा फरक रुपमा रहेको मृग नै शिव भगवान् हुनुहुन्छ भन्ने पहिचान भएपछि समातियो । मृगको सिङमा तीन जनाले समातेपछि भगवान् अलप हुनुभयो ।

सिङ भाँचिएर तीन टुक्रा भयो । भगवान् महादेवको आज्ञा अनुसार ब्रह्माको हातको सिङलाई मत्र्यमण्डलस्थित गोकर्णमा स्थापना गर्ने आदेश भयो । यसै आदेश अनुरुप कालगणना क्रमानुसार एक अर्ब ९५ करोड वर्षअघि स्थापना भएको यसै लिङ्गलाई अहिले गोकर्णेश्वर महादेवका नाममा पूजा आराधना गरिन्छ । भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव स्थापना भएकाले यस दिन यहाँ मेला लाग्ने परम्परा बसेको यस क्षेत्रको अध्ययन अनुसन्धानमा लाग्नुभएका प्रा डा ऋषिराम पोखरेल बताउँनुहुन्छ ।इन्द्रको हातमा रहेको सिङको टुक्रा स्वर्गमा स्थापना गरियो । विष्णुको हातमा रहेको सिङको टुक्रा पातालमा स्थापना गरियो । गोकर्णमा स्थापना गरिएको लिङ्गलाई श्रृङ्गेश्वर नामले पनि चिनिन्छ । पितृ उद्धारका लागि महत्वपूर्ण तीर्थस्थलका रुपमा शिव, लिङ्ग, स्कन्दलगायत पुराणमा वर्णन गरिएको यो स्थलमा भाद्रकृष्ण औँसीमा तर्पण, सिदादान र पिण्डदान गरेमा २१ पुस्ताका पितृको उद्धार हुने धार्मिक विश्वास गरिन्छ ।

भारतवर्षमा दुई गया छन् । गोकर्णेश्वर उत्तरगयालाई शिरको गया भनिन्छ । यो गया वाग्मती, सूर्यमती र चन्द्रमती सङ्गमस्थलमा छ । गयालाई पितृको मुक्तिका लागि श्राद्ध गर्ने मुख्य स्थलका रुपमा लिइन्छ । यो क्षेत्रको शिर वाग्मती उत्तरवाहिनी भएर बगेको स्थल हो भने हृदय गजाधरनारायण भगवान्को मन्दिर रहेको स्थल हो । पाउ गोकर्णमुनिको हत्यामोचनघाटलाई मानिएको उहाँले सुनाउनुभयो ।भारतको उत्तरप्रदेशमा रहेको गयामा श्राद्ध गर्न जानुअघि अनिवार्यरुपमा शिरको गया अर्थात् गोकर्णेश्वर क्षेत्रमा श्राद्ध गरेर जानुपर्छ । फल्गुनदीको किनारमा रहेको भारतको गयाका पण्डाले पनि नेपालको गया क्षेत्रमा श्राद्ध गर्नु भएको छ कि छैन ? भनी प्रश्न गर्ने गरेको पोखरेल बताउनुहुन्छ । यहाँ भगवान् विष्णुको दायाँ पादुका रहेकाले पनि यस क्षेत्रको विशेष महत्व छ । फल्गुनदी किनारमा रहेको पादुका बाँया हो ।

पितृ उद्धारको महत्वपूर्ण तीर्थ गोकर्णेश्वर उत्तरगया क्षेत्र नेपालमा पर्ने भएपनि यसको प्रचारप्रसार विश्वभर फैलिएका वैदिक सनातन धर्मावलम्बी र विशेषगरी भारतवर्षमा हुन सकेको छैन । यही तीर्थको नामबाट गोकर्णेश्वर नगरपालिकाको नामकरण गरिएको छ । तर यसको महत्वका बारेमा प्रचारप्रसार हुन सकेको छैन । प्रचारप्रसारको अभावमा वर्षभर धार्मिक पर्यटक नआएपनि भाद्रकृष्ण औँसीका दिन भने यहाँ लाखौँको ओइरो लाग्छ । यस दिनका लागि यहाँ कसैले प्रचारप्रसार पनि गरेको हुँदैन ।यस क्षेत्रको शास्त्रीय महत्वको प्रचारप्रसार गरे वर्षभर यहाँ पर्यटक आउँछन् । गोकर्णेश्वर महादेवको खोजीमा लाग्नुभएका गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ बालयन्त्रको पूजा हुने यस स्थलको महत्व बुझाउन नसकिएको बताउनुहुन्छ । पशुपतिनाथ मन्दिरमा श्रीयन्त्रको पूजा आराधना गरिन्छ । श्रीयन्त्रको पूजा आराधना गर्नेले बालयन्त्रको पूजा आराधना हुने स्थलको दर्शन नगरी फल प्राप्त नहुने धार्मिक मान्यता छ ।

यसैलाई प्रचारप्रसार गरी पशुपतिनाथ आएको धार्मिक पर्यटकलाई गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लैजाने योजना नगरपालिकाले बनाएपनि ठोस रुपमा कार्यान्वयन हुन सकेको छैन । नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना पशुपतिनाथ आएका धार्मिक पर्यटकलाई गोकर्णेश्वर लैजान विस्तृत परियोजना प्रस्ताव निर्माण भइरहेको बताउनुहुन्छ । प्रस्तावमा बन्ने योजना अनुरुप काम हुने उहाँले बताउनुभयो ।

कोरोनाले रोकिएन मेला

नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायम रहेको भन्दै गोकर्णेश्वर नगरपालिका वडा नं. ४ कार्यालय र गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिले एक साताअघि नै सूचना जारी गरेर मेला स्थगित गरिएको घोषणा गरे । विभिन्न सञ्चारमाध्यमबाट यो सूचनाको प्रचारप्रसार पनि भयो । कोरोना जोखिम फैलन सक्ने त्रासले सोमबार रातिदेखि नै गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा प्रहरी परिचालन गरिएको थियो । मन्दिरसँगै रहेको महानगरीय प्रहरी प्रभाग गोकर्ण मेलामा भक्तजन भेला हुन नदिन बिहान चार बजे नै नाका नाकामा पुग्यो । महानगरीय प्रहरी वृत्त बौद्धबाट सयौँको सङ्ख्यामा थप मद्दत आएपनि मेला रोकिएन ।

सनातनदेखिको परम्परा अनुसार देशका विभिन्न भागबाट हजारौँ मानिस मन्दिर क्षेत्रमा प्रवेश गरे । टाढा टाढाबाट आएका भक्तजनको अवस्थालाई ध्यान दिँदै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मेला सञ्चालन गरिएको मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले बताउनुभयो ।

स्वास्थ्य सुरक्षाका विधि अपनाएर मेला सञ्चालन गरिएको भने पनि विभिन्न जिल्लाबाट बस, ट्रक, मिनीबस, माइक्रोबसलगायत साधन रिजर्भ गरेर आएका भक्तजनले मास्कसमेत लगाएका छैनन् । मेलाकै कारण जोरपाटीबाट गोकर्ण जाने सडक जाम छ । कोरोनाअघि जस्तो भक्तजन नभएपनि भीडभाड बढेको छ ।
गोकर्णेश्वर महादेव मन्दिरमाथिको वाग्मती किनारमै श्रद्धा भक्तिपूर्वक तर्पण, पिण्डदान गर्ने भक्तजनको पनि लाम छ । वाग्मती किनारको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ४ नयाँगाउँका कृष्णमुरारी श्रेष्ठ पिताको निधन भएदेखि भाद्रकृष्ण औँसीका दिन प्रत्येक वर्ष नदी किनारमा श्राद्ध गनुहुन्छ । यसरी कुल परम्परा अनुसार पितृप्रति श्रद्धा भक्ति प्रकट गर्नेको लाम सुन्दरीजलसम्म नै लागेको छ । तिथिका दिन विधिपूर्वक घरमै पितृप्रति श्रद्धा भक्ति प्रकट गर्ने गरेको श्रेष्ठ बताउनुहुन्छ ।

आजको दिन गोकर्णेश्वर क्षेत्रमा गरिने दिवंगत पितृप्रतिको श्रद्धा जीवनकालमा एकपटक वैदिक सनातन धर्मावलम्बीले अनिवार्यरुपमा गर्छन् । देशभरका वैदिक सनातन धर्मावलम्बी जीवनकालमा एकपटक भाद्रकृष्ण औँसीका दिन श्राद्ध गर्न आउँछन् । पिता हुने सन्तानले भने घर घरमा मीठा मीठा खानेकुरा खान र राम्रन कपडा लगाउन दिएर श्रद्धा भक्तिपूर्वक यो पर्व मनाइरहेका छन् । जन्म दिने पितालाई देवता समान मानिन्छ । यसैले वैदिक ग्रन्थमा ‘पितृदेवो भव’ भनी उल्लेख गरिएको छ ।