आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

दर्शनार्थीको चहलपहल बढ्यो मुक्तिनाथ मन्दिरमा


नेपाल आवाज १३ आश्विन २०७८, बुधबार १९:०३ मा प्रकाशित १६९ पाठक संख्या

गण्डकी । को’रोना कहरका कारण झन्डै ६ महिनादेखि बन्द मुक्तिनाथ मन्दिर खुलेपछि चहलपहल बढ्दै गएको छ । यही असोज १० गतेदेखि मन्दिर खुला गरिएको थियो ।

विशेषगरी प्रत्येक वर्ष सोह्र श्राद्धका समयमा यहाँस्थित कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गरेमा पितृ मोक्ष हुने र भावी सन्ततिलाई सुख, समृद्धि हासिल हुने विश्वास गरिन्छ । यस समयमा प्रत्येक वर्ष देशका विभिन्न स्थानबाट दर्शनार्थी मुक्तिनाथ पुग्ने गर्दछन् ।

प्रकृति र संस्कृतिको अनुपम गन्तव्यका रुपमा स्थापित मुक्तिनाथमा पछिल्लो दशकयता चिसोको समयमा समेत दर्शन र अवलोकनका लागि आन्तरिक पर्यटक पुग्ने गरेको भए पनि दुई वर्षयता कोरोना कहरका कारण यहाँ पर्यटकको आवागमन प्रभावित भएको छ ।

स’ङ्क्र’मणको जो’खि’मका कारण गत वैशाखदेखि सर्वसाधारणका लागि पूजाआजामा रोक लगाई बन्द गरिएको मन्दिर यही असोज १० गतेदेखि खुल्ला गरिएको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । मन्दिर खुलेसँगै दर्शनार्थीको चहलपहल बढ्दै गएको जनाउँदै उहाँले सोह्र श्राद्धका बाँकी तिथिका साथै औँसीका दिनमा दर्शनार्थीको चाप बढ्ने जानकारी दिनुभयो ।

मुक्तिनाथमा दर्शनार्थीको चाप बढेसँगै केही वर्षयता पर्यटक लक्षित पूर्वाधारका साथै सुविधा सम्पन्न होटल बन्ने क्रमले गति लिएको छ ।

दशकअघिसम्म मुक्तिनाथको दर्शन गर्न जाने तीर्थालु आसपासका भेटी, गोठ तथा रानीपौवास्थित धर्मशालामा बस्ने गर्दथे । ठाउँठाउँबाट आएका तीर्थयात्रीले रानीपौवा खचाखच भरिन्थ्यो भने अधिकांशले खाने कुराका साथै ओढ्ने ओच्छ्याउने सामग्री आफैँ लिएर जाने गर्दथे । चार दशकअघिसम्म तीर्थयात्राका क्रममा यस्तै पौवा र ठाँटी, भेँडीगोठ आदिमा बस्नु बाध्यता थियो । पछिल्ला वर्षमा भने मुक्तिनाथ मन्दिर आउने दर्शनार्थीका लागि सामान्यदेखि सुविधा सम्पन्न होटल उपलब्ध छन् ।

यहाँ रहेको रानीपौवाले आफ्नै महत्व एवम् ऐतिहासिकता बोकेको छ । तत्कालीन समयमा रणबहादुर शाहकी रानी सुवर्णप्रभा विसं १८६३ मा मुक्तिनाथ दर्शनका लागि पुग्नुभएको थियो । सुवर्णप्रभासँग मुक्तिनाथका स्वामी महाराजले दर्शनार्थीलाई तीर्थयात्राका क्रममा बास बस्न समस्या परेको अनुरोध गर्नुभएछ ।

सोही अनुरोधकै आधारमा रानी सुवर्णप्रभाले मुक्तिनाथ मन्दिर प्रवेशको मुख्यद्वार यही रानीपौवामा धर्मशाला निर्माण गर्नुभयो । स्थानीयवासीका अनुसार तत्कालीन समयमा कुष्मा अर्मादीबाट काठ ल्याएर धर्मशाला निर्माण गरिएको थियो । त्यसै समयदेखि रानीले बनाइदिएको धर्मशाला भएकाले यसलाई रानीपौवा भनिएको हो । उक्त धर्मशालाले तत्कालीन समयदेखि नै मुक्तिनाथमा आउने तीर्थयात्रीलाई खान तथा बास बस्न सहज भएको थियो ।

रानीपौवामा धर्मशाला निर्माणसँगै फूल, प्रसाद एवम् आवश्यक अन्य समान बेच्ने क्रमबाट यो ठाउँले बिस्तारै व्यावसायिक रुप लिँदै गएकामा यो अहिले रानीपौवा बजारका रुपमा चर्चित छ । तत्कालीन समयमा रानीपौवामा बसोबास नभएका कारण त्यहाँबाट केही तल पुराङ गाउँमा सर्वसाधारण बस्दथे । रानीपौवा र आसपासका गोठ तथा पुराङ बस्ती रहेकामा धर्मशालामा दर्शनार्थी बस्न थालेपछि पुराङवासी बिस्तारै रानीपौवातिरै उक्ले ।

धमाधम बन्दै गरेका सुविधा सम्पन्न होटलसँगै रानीपौवा क्षेत्रकै संरचनामा ठूलो परिवर्तन आएको मुक्तिनाथ गाउँका पूर्वमुखिया एवम् होटल ग्रान्ड साम्बालाका सञ्चालक सुरज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार झन्डै २०३२÷३३ सालसम्म यो ठाउँ सामान्य लेक रहेको र यहाँ भेडाबाख्राका गोठ थिए । पछिल्ला वर्षमा विदेसिएका युवा फर्केर यहीँ होटल व्यवसाय सञ्चालन गर्न लागेका छन् ।

दुई वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथको भ्रमणसँगै भारतीय धार्मिक पर्यटक आउने क्रमले गति लिएको थियो । को’रोना कहरका कारण पछिल्लो दुई वर्षयता प्रभावित यहाँको धार्मिक पर्यटन आगामी दिनमा भने बढ्ने विश्वास लिइएको छ ।

पर्यटकलाई लक्षित गरी निर्मित यहाँका होटलका कोठाबाटै हिमाल र मनोरम भूबनोट एकसाथ अवलोकन गर्न सकिन्छ भने रोजाइअनुसार राष्ट्रिय, अन्तर्राष्ट्रियदेखि स्थानीय खानाका परिकारका स्वाद खान पाइन्छ । सडकको पहुँच र यातायातको सुविधा भएपछि पछिल्लो दशकयता मुक्तिनाथमा धार्मिक पर्यटकको आगमन बढिरहेको यहाँका व्यवसायी बताउँछन् ।

मुक्तिनाथलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको सङ्गमस्थल मानिन्छ । मुक्तिनाथलाई भगवान् विष्णुले तपस्या गरेको पुण्यभूमिका रुपमा लिइन्छ । तपस्याका क्रममा भगवान्को शरीरबाट आएको पसिनाबाट पानीको मूल फुटेको र सोही पानीको १०८ धारा यहाँ रहेको किंवदन्ती छ । यहाँका १०८ धारामा स्नान र मुक्तिनाथको दर्शन गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास रहेको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले बताउनुभयो ।

मन्दिर खुल्ला गरिए पनि को’रोनाको सम्भाव्य जो’खि’मलाई दृष्टिगत गर्दै स्वास्थ्य मापदण्ड पालनालाई भने अनिवार्य गरिएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार मुक्तिनाथ आउन चाहने दर्शनार्थीका लागि विदेशीका हकमा ७२ घण्टाको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ भने स्वदेशीका लागि दुवै खोप लगाएको कार्ड, पिसिआर रिपोर्ट वा एन्टिजेन परीक्षण गरिएको रिपोर्टमध्ये एक अनिवार्य गरिएको छ ।