आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

हिमानी कोषद्वारा बुटवलका बाढी पहिरो पिडित परिवारलाई राहत बितरण


नेपाल आवाज ११ कार्तिक २०७८, बिहीबार २२:२६ मा प्रकाशित ३६७ पाठक संख्या

हिमानी कोषद्वारा बिहीबार विशेष कार्यक्रम गरी बुटवल ज्योतिनगरमा केही समय अगाडी आएको बाढी-पहिरोबाट प्रभावित घर परिवारलाई राहत बितरण कार्य सम्पन्न भएको छ।

अबिरल बर्षाका कारण आएको बाढि-पहिरोले बुटवल ज्योतिनगरमा ठूलो भौतिक क्षेती भएको थियो । उक्त बाढी पहिरो बाट प्रभावित घरपरिवारलाइ राहत स्वरुप हिमानी कोषले खाद्यान्न,लत्ताकपडा, भाँडाकुँडा तथा भान्सामा प्रयोग हुने सामानहरु बितरण गरेको हो।

बुटवलको ज्योतिनगर स्थित ज्योति प्राथमिक विद्यालयमा आयोजित राहत वितरण कार्यक्रममा कोषकी कोषाध्यक्ष शीताष्मा शाह मार्फत राहत बितरण कार्य सम्पन्न भएको छ।

केही समय अगाडी पहिरो क्षेत्र अवलोकनमा गएका बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि मुक्का प्रहार भएको थियो । सुरक्षाकर्मी र नगरपालिकाको टोलीसहित बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकन गर्न गएका उनलाई स्थानीय एक युवकले मुक्का प्रहार गरेका थिए । भारी वर्षाले पहिरो खसेपछि उक्त दिन बिहान मेयर सुवेदी अवलोकन गर्न पुगेका थिए ।

पहिरोले उक्त दिन ९ घर क्षतिग्रस्त भएका थिए । ज्योतिनगर क्षेत्रमा यस वर्ष भदौ १३ गतेदेखि पहिरो खस्न सुरु गरेको हो । लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा अहिलेसम्म यहाँका २७ घर क्षतिग्रस्त भएका थिए । स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै आएका थिए । सोही क्षेत्रमा हिमानी कोषले बाढी पहिरो प्रभावित घर परिवारलाई राहत बितरण गरेको हो ।