आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे


नेपाल आवाज ११ कार्तिक २०७८, बिहीबार २२:५७ मा प्रकाशित २५३ पाठक संख्या

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डे नियुक्त भएका छन् ।

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पाण्डेले प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १ र १ जना नेता समावेश गरी मन्त्रिपरिषद विस्तार गरेका छन् ।

पाण्डेले पदभार ग्रहणसँगै पहिलो निर्णय सार्वजनिक गरेका छन् । मुख्यमन्त्री पाण्डेले पहिलो निर्णयमा कोभिड १९ सहित डेंगु, स्क्रब टाइफसलगायत सरुवा रोगहरुको नियन्त्रणका लागि उपलब्ध स्वास्थ्य सेवा र सुविधाहरुको प्रभावकारी व्यवस्था र अस्पतालको क्षमता वृद्धि गरी थप प्रभावकारी बनाउन १३ वटै जिल्लाका अस्पताल, स्वास्थ्य चौकी तथा संस्थाहरुलाई परिचालन गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने उल्लेख छ । स्वास्थ्य क्षेत्र संवेदनशील भएकाले प्रदेश सरकारको पहिलो ध्यान स्वास्थ्य क्षेत्रमै हुनुपर्नेमा जोड दिए ।

यस्तो छ राजनितीक ईतिहाँस
२०१३ साल जेठ २९ गते धादिङको गजुरी गाउँपालिका वडा नम्बर–२ मा बाबु नेत्रराज पाण्डे र आमा मनमाया पाण्डेको कोखबाट जन्मेका हुन् । २०७४ सालको प्रदेशसभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर–१ ‘क’ बाट निर्वाचित भएका हुन् । नेकपा एमालेको उम्मेदवारका रुपमा विजयी भएका उनी पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादीमा लागेका छन् ।

ग्रामिण विकासमा स्नातकोत्तर गरेका उनी सुरुमा शिक्षण पेसामा आबद्ध थिए । ‘शिक्षणभन्दा राजनीतिबाट समाज परिवर्तन गर्नुपर्छ भनेर पूर्णकालीन राजनीतिमा लागेका हुन् ।

पाण्डे नेकपा मालेको सहसचिव हुँदै २०४३ मा जिल्ला पञ्चायत सभापति भएका थिए । २०५० सालमा नेकपा एमालेको अञ्चल सचिव र २०५५ मा केन्द्रीय सदस्य भए । धादिङमा नेकपा एमालेका तर्फबाट २०४८, २०५१, २०५६ र २०७० को संसदीय निर्वाचनमा विजयी भएका उनले स्थानीय विकासमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

उनी २०३२ सालमा सरस्वती क्याम्पसको नेतृत्व गरेर आन्दोलनमा हिँड्ने क्रममा जेल पर्दा उनको भेट झापाली राजबन्दीसँग भएको थियो । त्यसपछि झापा आन्दोलनलाई समर्थन गर्दै उनी सक्रिय राजनीतिमा लागेका थिए । २०३३ वैशाखमा राष्ट्र विप्लवको मुद्दामा उनलाई १० वर्ष जेल र १० हजार जरिवाना तोकिएको थियो ।

जेल बस्ने क्रममा उनी २०३३ सालमा केन्द्रीय कारागारमा पार्टीको जेल कमिटीको सदस्य भएका थिए । त्यतिबेला उनी ४२ दिन जेल बसेका थिए ।पाण्डेले २०५० वैशाख २० देखि नेपालगन्जमा सम्पन्न छैटौं महाधिवेशनबाट अञ्चल सचिवको जिम्मेवारी सम्हालेका थिए । उनले २०३६, २०३८ र २०४२ सालमा सम्पन्न शिक्षक आन्दोलनको नेतृत्वसमेत गरेका थिए ।

नेपाल राष्ट्रिय शिक्षक संगठनको पनि जन्मदाता नै हुन् । २०३७ र २०४० सालमा सम्पन्न २ वटा राष्ट्रिय महाधिवेशनबाट धादिङ जिल्ला कार्य समितिको २ कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाले । २०४९ साल माघ, २०५४ साल माघ, २०५९ साल फागुन र २०६५ साल फागुनमा सम्पन्न पार्टीको महाधिवेशनमा भाग लिई नेतृत्वमा रहेर काम गरे ।

पाण्डेले २०५० सालमा संयुक्त राज्य अमेरिका भ्रमण गरे । २०५३ सालमा चीन, २०५३ साल श्रावणमा इटली र जापान भ्रमण गरेका उनले २०५८ सालमा जर्मनी, स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमण गरेका थिए । २०५९ सालमा मलेसिया, सिंगापुर, फिलिपिन्स र थाइल्याण्ड, २०६२ सालमा भेनेजुयलाको भ्रमण गरे । पाण्डेले २०६३ सालमा तान्जानिया, २०६६ सालमा ब्राजिल र चीन, २०६७ सालमा दक्षिण कोरिया, २०६९ सालमा अष्ट्रेलिया र २०७१ सालमा चीनको भ्रमण गरेका छन् ।