आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

एमाले महाधिवेशन सकिने वित्तिकै प्रचण्ड चितवनमा, केमा व्यस्त छन् ?


नेपाल आवाज १८ मंसिर २०७८, शनिबार १२:०७ मा प्रकाशित ३९७ पाठक संख्या

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेन सकिन वित्तिकै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आइपुगेका छन् । गृहजिल्लामा प्रचण्डको आउजाउ बाक्लिएको हो ।महाधिवेशनअघि मात्रै प्रचण्डले ६ जना मन्त्री भरतपुरमा उतारेर विकास बहसको कार्यक्रम गरेका थिए । शुक्रबार चितवन आइपुगेका प्रचण्डले शनिबार बिहानै सी बिच मोडलमा आधारित नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माणको शिलान्यास गरेका छन् ।एमालेले महाधिवेशनको उद्घाटन नारायणी नदी किनारमै गरेको थियो । एमाले महाधिवेशनको उद्घाटन सत्र स्थलमा आयोजित शिलान्यास कार्यक्रममा प्रचण्डले एमाले नेता कार्यकर्ताले चितवनको विकास देख्नुका साथै यहाँको राजनितिक महत्व के हो भन्नु कुरा पनि स्थापित गरेर गएको बताए ।

‘देशभरीका जनताले चितवन, चितवनको विकास, नारायणी, यहाँको धार्मिक पर्यटकीय स्थल, सबै जल जंगलको स्थिति बुझेर जानु भनेको चितवनवासी र हामी जनप्रतिनिधिका लागि खुसीको कुरा हो,’ उनले भने ।एमालेको महाधिवेशन चितवनमा हुनुलाई आफूले नकरात्मक रुपमा नलिएको उनले बताए । यद्यपि यसअघिका विभिन्न कार्यक्रममा बोल्दा एमालेले आफूलाई सिध्याउनकै लागि चितवनमा महाधिवेशन गरेको प्रचण्डले बताएका थिए ।

प्रचण्डले यातायात व्यवस्था सेवा कार्यालय भरतपुरको सवारी दर्ता तथा सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स)को नवीकरण सेवा शुभारम्भको पनि शनिबार उद्घाटन गरे । बागमती प्रदेशअन्तर्गतको यातायात सेवा कार्यालयले स्मार्ट लाइसेन्सको नविकरण गर्न पाउने अधिकार पाएलगत्तै सेवा सञ्चालन गरेको हो ।१८-१९ मंसिरसम्म चितवनमा हुन लागेको प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको प्रचण्डले उद्घाटन गर्दै छन् । उद्घाटनसँगै महाधिवेशनलाई प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।