आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

राजतन्त्रबारे राप्रपामा तीन धार


नेपाल आवाज २६ पुष २०७८, सोमबार ११:४६ मा प्रकाशित २४१ पाठक संख्या

काठमाडौं – एकता महाधिवेशन गरेको एक महिना बित्दानबित्दै राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र तीन धार देखापरेको छ।

मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा महाधिवेशन गरेको राप्रपाका नेतामा राजतन्त्र र राजालाई हेर्ने विषयमा मतभेद देखिएको हो। अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेता सडक आन्दोलन गरेर भए पनि संवैधानिक राजतन्त्र स्थापनाको पक्षमा देखिएका छन्।

निवर्तमान अध्यक्ष कमल थापा राजतन्त्रको विपक्षमा देखिएका छन्। उनले पार्टीहरूको आन्तरिक जीवनमा पूर्वराजाले नांगो हस्तक्षेप गरेर राजनीतिभन्दा माथि बस्न नसकेको आरोप लगाएका छन्।

उपाध्यक्ष बुद्धिमान तामाङसहितका केही नेता अध्यक्ष र निवर्तमान अध्यक्ष दुवैको धारणा अतिवादी रहेको भन्दै राप्रपा हिन्दु राष्ट्रसहितको आलङ्कारिक राजतन्त्रको पक्षमा उभिनुपर्ने पक्षमा छन्। पुरानै अवस्थाको राजतन्त्र र राजतन्त्रबिनाको राप्रपा दुवै असम्भव रहेको भन्दै तामाङसहितका नेता मध्यमार्गमा उभिएका हुन्।

निवर्तमान अध्यक्ष थापा पृथ्वीजयन्तीको अवसर पारेर पुस २७ गतेबाट पार्टी एकता र हिन्दु राष्ट्रका लागि अभियान सञ्चालनको तयारीमा थिए। कोरोना भाइरस संक्रमण तीव्र हुँदै गएको भन्दै थापाले अभियान केही समय रोकिएको जनाएका छन्। ‘पुस २७ मा सुरु गर्न लागिएको राष्ट्रिय एकता अभियान केही समय रोक्नु उपयुक्त हुने सुझाव राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यहरूबाट प्राप्त भएको तथा अहिले कोरोना महामारी तीव्र गतिमा बढ्न लागेका कारण समेत सो अभियान हाललाई स्थगित गर्ने निर्णय तयारी समितिको बैठकले गरेको छ,’ उनले लेखेका छन्।

अभियानका विषयमा थापाले बुधबार राजधानीको तिलगंगामा निकट नेताहरूको भेला राखेर सहयोग मागेका थिए। हिन्दु राष्ट्र, मुलुकको संस्कृति, परम्पराको संरक्षण र पार्टी एकताका लागि अभियान सञ्चालन गर्न लागेको बताएका थापाले आवश्यक परे नयाँ पार्टी खोल्ने संकेत गरेका छन्। ‘संवैधानिक राजतन्त्र र हिन्दु धर्मको पक्षमा अभियान सञ्चालन गर्ने उहाँ (थापा) ले बताउनुभयो,’ भेलामा सहभागी एक नेताले भने, ‘पूर्वराजाले पेल्दै अघि बढे राजतन्त्र बोकेर हिँड्नुपर्छ भन्ने नभएको आशय थियो।’ स्थानीय निर्वाचनअघि आवश्यक परे नयाँ पार्टी स्थापना गर्न सकिने थापाले बताएको अर्का एक सहभागीले जानकारी दिए। उनले भने, ‘स्थानीय तहको निर्वाचनअघि नयाँ पार्टी खोल्ने उहाँको आशय देखिन्छ। त्यो पनि राजा र राजतन्त्रबाहेकको पार्टी।’

भेलामा सहभागी केहीले थापाको प्रस्तावप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रजस्तै अर्को पार्टी बनाएर हिँड्न नसकिने धारणा राखेका छन्। पार्टीलाई एकताबद्ध बनाएर राप्रपालाई नै अघि बढाउनुपर्ने भन्दै उनीहरूले हिन्दु राष्ट्र र राजतन्त्रबाहिर गएर संगठन गर्ने र पार्टी बनाउने कुरामा पनि सहयोग गर्न नसकिने धारणा राखेको स्रोतले बतायो।

पार्टी एकता बलियो बनाउन थापाले सञ्चालन गर्ने अभियानलाई सहयोग गर्ने तर पार्टी विभाजन वा नयाँ पार्टी स्थापनाको पक्षमा उभिन नसक्ने धारणा अधिकांश सहभागीले राखेका थिए। ‘विगतको विषम परिस्थितिमा राजसंस्थाको अजेन्डा बोक्दा प्रतिगामी, पुनरोत्थानवादी र ‘सिनो’ बोकेर हिँड्ने भनेर मलाई सत्तोसराप गर्नेहरूले नै अहिले राजा राजनीतिभन्दा माथि रहनुपर्छ, पार्टीमा चलखेल गर्नुहुँदैन भन्दा मेरो खेदो खनिरहेकाछन्,’ थापाले सामाजिक सञ्जालमा फेसबुकमा लेखेका छन्, ‘हाँसो उठ्छ र उदेक लाग्छ। त्यो राजतन्त्रप्रति विकसित नयाँ मोह हो वा मेरो चरित्रहत्या गर्ने रहर, मैले बुझ्न सकेको छैन।’

आफू निरंकुश र सक्रिय राजतन्त्रको पक्षमा नरहेको भन्दै थापाले राप्रपाको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपबाट राजा निष्पक्ष अभिभावक र राजनीतिभन्दा माथि बस्न नचाहने स्पष्ट संकेत मिलेको उल्लेख गरेका छन्।

‘मेरो समस्या र पीडा त्यही हो। यो प्रसंगलाई हारजितसँग जोडेर हेर्नेहरूले समस्याको जड बुझ्न सक्दैनन्,’ उनले लेखेका छन् ,‘उनीहरूको विवशताप्रति मेरो दया छ।

तर स्पष्ट होस्, विचार मिलेन भने पार्टीबाट कुनै दिन नैतिक आधारमा म अलग हुन सक्छु तर राप्रपा कदापि फुटाउने छैन।’ राजतन्त्र र हिन्दु राष्ट्रको अजेन्डा उठाउँदै आएका थापाले पूर्वराजा ज्ञानेन्द्र शाहका कारण आफू राप्रपा अध्यक्षमा पराजित भएको आरोप लगाउँदै आएका छन्।

अर्कोतिर पार्टी उपाध्यक्ष तामाङसहितका नेताहरू अब पुरानै अवस्थाको राजतन्त्र स्थापना सम्भव नरहेको बुझाइमा छन्। पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपतिसहितका पूर्वपदाधिकारीको सुरक्षा र सेवासुविधा मुलुकले धान्नै नसक्ने अवस्थामा पुग्न लागेकाले पनि आलंकारिक राजतन्त्रको पक्षमा बिस्तारै वातावरण बन्दै गएको उनीहरूको बुझाइ छ। अध्यक्ष लिङदेनसहितका नेताको सक्रिय वा संवैधानिक राजतन्त्रको पक्षमा गरिएको वकालतले बन्दै गएको माहोल बिग्रिन थालेको उनीहरूको बुझाइ छ।

देखिने, सुनिने नभएर मुलुकको राष्ट्रिय एकताको प्रतीकका रूपमा सबै जातजाति, भाषाभाषी, भूगोल र समुदायलाई समेट्ने आलंकारिम राजाको पक्षमा उनीहरूले जोड दिँदै आएका छन्। अध्यक्ष लिङदेनले संसद्मा रहेका प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, एमाले र माओवादीविरुद्ध दिएका अभिव्यक्तिले वातावरण थप बिग्रने उनीहरूको बुझाइ छ।

आलंकारिक राजाको कुरा उठाउँदै राप्रपा अघि बढेका बेला नयाँ अध्यक्ष लिङदेनका अभिव्यक्तिले सक्रिय राजातन्त्रको आभास दिएको बताउँदै एक नेताले भने, ‘त्यसले वातावरण झन् बिग्रन्छ।’ सांकेतिक राजतन्त्रसहित हिन्दु राज्यलाई राप्रपाले अघि बढाउनुपर्ने जनाउँदै उनले थपे, ‘पार्टी मात्र होइन, मुलुक नै त्यसभित्र गोलबद्ध हुन सक्छ। हामी दायाँ बायाँ लाग्नु हुँदैन।’

राप्रपाको एकता महाधिवेशनअघि पूर्वराजा ज्ञानेन्द्रले पार्टीका विभिन्न तहका नेतासँग भेट गरेका थिए। पूर्वराजा ज्ञानेन्द्रले काठमाडौंमा मात्र नभएर झापामा रहेका बेला पनि राप्रपाका नेताहरूलाई त्यहीं बोलाएर भेटेको स्रोतको दाबी छ। राप्रपाको नेतृत्व र आगामी रणनीतिका विषयमा ज्ञानेन्द्रले चासो राखेका थिए। पूर्वराजा ज्ञानेन्द्रले सडक आन्दोलनबिना राजतन्त्र पुनस्र्थापनाको सम्भावना कम रहेको भन्दै कमल थापासहितका नेतालाई आन्दोलन गर्न सुझाएको स्रोतको दाबी छ। तर थापाले सडक र सदन दुवै मोर्चाबाट राजतन्त्रको पक्षमा वातावरण बन्ने धारणा राखेका थिए।

सदनलाई छाडेर सडकमा मात्र अहिले नै जाने अवस्था नभएको भन्दै थापाले असहमति जनाएको स्रोतको दाबी छ। त्यससँगै ज्ञानेन्द्र र थापाको सम्बन्धमा चिसो आएको स्रोतले बतायो। त्यसपछि पूर्वराजा ज्ञानेन्द्रले लिङदेनसहितका नेतालाई अघि सारेको स्रोतको दाबी छ।

-यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौं ।