आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

न्यु डायमन्डविरुद्ध एपीएफको सं’घर्षपूर्ण जित


नेपाल आवाज २८ पुष २०७८, बुधबार १९:१६ मा प्रकाशित १३९ पाठक संख्या

काठमाडौं ।पोखरामा जारी टाइगर कपमा बुधबार महिलातर्फ विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लबले जित निकालेका छन्।दिनको सुरुआती खेलमा पुलिसले आयोजक टाइगर ग्रुप अफ पोखरालाई सोझो सेटमा पराजित गर्‍यो । उषा भण्डारी, मनिषा चौधरी, कामना विष्टलगायत खेलाडीको उत्कृष्ट प्रदर्शनसँगै पुलिसले खेल २५-२०, २५-१७, २५-२२ जित्यो। प्रतियोगितामा पुलिसको पहिलो जित हो ।पहिलो खेलमा पुलिस सशस्त्र प्रहरी बलको एपीएफसँग ३-१ को सेटमा पराजित भएको थियो।बुधबार नै भएको दोस्रो खेलमा एपीएफले न्यु डाइमन्डविरुद्ध ३-२ सेटको संघर्षपूर्ण जित निकाल्यो । राष्ट्रिय तथा युवा खेलाडीले भरिएका दुवै टोलीको खेल रोमाञ्चक अवस्थामा पुगेको थियो ।पहिलो सेट न्यु डायमन्डले २५-२१ ले जित्यो । दोस्रो सेट एपीएफले २५-२१ ले जित्दा खेल १-१ को बराबरीमा अगाडि बढ्यो। तेस्रो सेट पुनः न्यु डायमन्डले २५-१० ले आफ्नो पक्षमा पार्‍यो। २-१ सेटले पछि परेको एपीएफले आक्रामक खेल प्रदर्शन गर्दै चौथो र निर्णायक सेट क्रमशः २५-१२ र १५-८ ले जित्यो ।

जितसँगै एपीएफले दुई अंक पायो भने न्यु डायमन्डले एक अंक प्राप्त गरेको छ। प्रतियोगितामा न्यु डायमन्डको पहिलो हार हो।जितसँगै न्यु डायमन्ड तीन खेलबाट सात अंक जोडेर शीर्षस्थानमा छ। तीन खेलबाट एपीएफ पाँच अंकसहित दोस्रो स्थानमा छ। आर्मी र पुलिसँग समान तीन अंक रहेको छ। लगातार दुई हारपछि आयोजक अंकविहीन रहेको छ।आजै भएको पुरुषतर्फको पहिलो खेलमा हेल्प नेपालले विभागीय आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो। तीन भारतीय खेलाडी कोर्टमा उतारेको हेल्प नेपालले राष्ट्रिय टोलीका अधिकांश खेलाडी रहेको आर्मीविरुद्ध सहज जित पायो । अहिले अन्तिम खेलमा विभागीय प्रतिद्वन्द्वी एपीएफ र नेपाल पुलिस प्रतिस्पर्धा गर्दैछन् ।