आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

बिरामीको उपचारका लागि गाउँमै पुगे स्वास्थ्यकर्मी


नेपाल आवाज ३० पुष २०७८, शुक्रबार ०८:१८ मा प्रकाशित १२७ पाठक संख्या

सिमकोट । हुम्लाको नाम्खा गाउँपालिकाका स्वास्थ्यकर्मी बिरामीको उपचार गर्न दुर्गम बस्ती चाला गाउँमा पुगेका छन् ।स्वास्थ्यकर्मी गाउँमै आएर उपचार गर्दा निकै नै राहत भएको स्थानीय काँडोल लामाले बताए । चाला गाउँबाट नाम्खा गाउँपालिका केन्द्र यालबाङ पुग्न एक दिन पैदल हिँड्नुपर्छ ।

नाम्खा गाउँपालिका स्वास्था शाखाबाट तीन जना स्वास्थ्यकर्मी बिरामीको उपचार गर्न हिमपातमा पनि गाउँ पुगेका हुन् । सडक सञ्जाल नजोडिएको जिल्ला हुम्ला हो ।गाउँमा बिरामी पर्दा लामा बसाल्ने र झारफुक गर्नेबाहेक विकल्प नभएका बेला स्वास्थ्यकर्मी पुगेर उपचार गरेको ताक्ला जिग्मेत लामाले बताए ।गाउँपालिकाका स्वास्थ्य संयोजक ग्याछो लामाका अनुसार चाला गाउँमा स्वास्थ्य चौकी नहुँदा स्थानीयले सदरमुकाम सिमकोट वा गाउँपालिका केन्द्र याल्वाङमा रहेको स्वास्थ्य चौकीबाट चार-पाँच महिनाअगाडि लगेको सिटामोलले काम चलाउने गरेका थिए ।

बिरामीले उपचार नपाउने अवस्था भएपछि घरदैलो कार्यक्रम सञ्चालन गरिएको उनले बताए । ज्येष्ठ नागरिक, गर्भवती र बालबालिका गरी ३५ जना बिरामीको उपचार गरिएको उनले बताए।स्वास्थ्य परीक्षणसँगै औषधि पनि दिइएको छ ।