आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

धादिङ पहिरोमा पुरिएका तीन जनाको खोजतलास गर्न थप जनशक्ति परिचालन


नेपाल आवाज ३० पुष २०७८, शुक्रबार २१:४३ मा प्रकाशित २५३ पाठक संख्या

धादिङ- धादिङमा पहिरोमा पुरी बेपत्ता भएका तीन जनाको खोजतलास गर्न थप जनशक्ति परिचालन भएको छ।बिहीबार बिहान करिब साढे ७ बजे रूबीभ्याली गाउँपालिका-१ पुरूमा खसेको पहिरोमा पुरिएकाहरूको खोजी गर्न थप जनशक्ति परिचालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए। पुरुदेखि लिङ्जो पुग्ने सडकको नयाँ ट्र्याक खन्ने क्रममा बिहिवार बिहान डोजरसहित पहिरोमा ३ जना पुरिएका थिए ।
काभ्रे घर भएका डोजर चालक अन्दाजी २७ वर्षीय आकाश तामाङ, सहचालक राजु तामाङ र साइट हेर्न बसेका सडक निर्माण समितिका स्थानीय अनिष तामाङ बेपत्ता छन्। उनीहरूले सडकको ट्र्याक खनिरहेको अवस्थामा पहिरो खसेको हो। अझै पनि बेपत्ताहरूको अवस्था अज्ञात छ। नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीका जम्मा ३६ जना मिलेर खोजी गर्ने काम भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए। ‘पहिरो खसेको ठाउँमा मेसिन औजार प्रयोग गर्न सकिने अवस्था छैन,मानिसले नै आफैं पहिरो पन्छाउनुपर्छ त्यसैले खोज्न कठिन भइरहेको छ’ डिएसपी भण्डारीले भने । घटना भएपछि नजिकैको प्रहरी चौकीबाट चार घण्टा हिँडेर केही प्रहरीको टोली घटनास्थल पुगेको थियो। त्यसपछि जिल्लाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको प्रहरी निरीक्षकको कमाण्डमा टोली हेलिकप्टरमार्फत् पुगेको थियो।अर्को दुई पटक गरी हेलिकप्टरबाटै सेनाको टोली खटिएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए। घटनास्थल धादिङ सदरमुकामदेखि तीन दिनको दुरिमा पर्दछ ।