FLASH NEWS

बामदेव गौतम नेकपा एमालेमा फर्किने संकेत


नेपाल आवाज २४ जेष्ठ २०८०, बुधबार १९:०४ मा प्रकाशित २२३३ पाठक संख्या

काठमाडौं – राष्ट्रिय सभा सदस्य बामदेव गौतमले नेकपा एमालेमा फर्किने संकेत गरेका छन्। राष्ट्रिय सभा बैठकपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएमा खुसीसाथ एमालेमा फर्किने बताए।


एमालेले मंगलबार मात्रै ७० वर्षे उमेरको हदबन्दी हटाउने निर्णय गरेपछि वामदेवले पुरानै पार्टीमा फर्किने सम्भवना बढेको बताए।

गौतमले भने, ‘७० वर्षे उमेरहद हटाउने निर्णयवारे औपचारीकरूपमा थाह पाएको छैन। मलाई केपी ओलीले अझै भन्नुभएको छैन। उहाँहरूले मलाई नै रोक्न ७० वर्षे उमेर हद ल्याउनुभएको हो। उमेर हद हटाइएको यही अवस्थामा हामी एमालेमा जान्छौं।’

उनले ७० वर्षे हट्नैपर्ने आफ्नो प्रस्ताव रहेको बताए। उमेर हदका आधारमा कसैलाई विभेद् गर्न नपाइने गौतमको भनाइ छ।

एमाले आफूले निर्माण गरेको पार्टी रहेको भन्दै गौतमले एमालेप्रति माया लाग्ने बताए । आफ्नो पार्टी सदस्यता पनि एमालेमै रहेको उनको भनाइ छ । उनले केही दिन भित्र पार्टी सदस्यता नविकरण गर्ने समेत बताए । गौतमले आफू एमालेमा अध्यक्ष वा महासचिव बन्नका लागि जान नलागेको पनि बताए ।

उनले भने, ‘वामदेव गौतम एमालेमा अध्यक्ष हुन जाने होइन । महासचिव हुन जाने होइन। पार्टीमा योगदान दिन जाने हो ।’

यसैबीच, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि गौतमको पार्टी सदस्यता एमालेमै रहेको बताए । बुधबार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीले ७० वर्षे उम्मेर हद हटाउने हो भने वामदेव गौतमले एमाले आउने कुरा गर्नुभयो नि भनि प्रश्न गरेका थिए । ओलीले अब थप केही कुरा छ र ? भन्ने प्रतिक्रिया दिए । उनले यसबीचमा पनि गौतमले पार्टी एकता अभियान चलाएको र नयाँ पार्टी नबनाएको बताए ।

ओलीले एमालेमा जान्छु भन्ने गौतमको भनाई ठिक भएको पनि बताए ।