FLASH NEWS

सीमा सुरक्षाका लागि सरकार संवेदनशील छः प्रधानमन्त्री ‘प्रचण्ड’


नेपाल आवाज ८ असार २०८०, शुक्रबार १४:४९ मा प्रकाशित १५८५ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमानाको सुरक्षाको लागि सरकार संवेदनशील रहेको बताएका छन् ।


शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रतिनिधि सभा सदस्य अशोककुमार चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले देशको सिमानाको सुरक्षामा सरकार संवेदनशील रहेको बताएका हुन् ।

उनले देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता लगायत राष्ट्रिय हीतको रक्षाको लागि पनि सरकार सम्वेदनशील र प्रयत्नशील रहेको बताए ।

अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई थप सबल, सदृढ र प्रभावकारी बनाउन सीमा स्तम्भहरुको नियमित मर्मत, सम्भार गर्दै जाने विषय सरकारको प्राथमिकतामा रहेको उनले बताए ।

त्यस्तै, बोर्डर आउटपोष्टहरुको सुदृढीकरण र थप स्थानमा आउटपोष्ट निर्माण गर्दै जाने विषय सरकारको उच्च प्राथमिकतामा रहेको उनले उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले हालसम्म स्थापना भएका २ सय ५० बोर्डर आउटपोष्टहरुमध्ये १ सय २८ वटाको भौतिक संरचना निर्माण भएको र चालु आर्थिक वर्ष २०७९/८० सम्ममा थप १० बोर्डर आउटपोष्टहरु निर्माण सम्पन्न हुने बताए ।