FLASH NEWS

०६२/०६३ को परिवर्तनले देश र जनताको हित गरेन: कमल थापा


नेपाल आवाज ९ असार २०८०, शनिबार १३:२३ मा प्रकाशित १५९७ पाठक संख्या

महोत्तरी- राप्रपा नेपालका अध्यक्ष कमल थापाले ०६२/६३ को परिवर्तनबाट मुलुकको हित हुनुको सट्टा राष्ट्रियता कमजोर भएको, धर्म-संस्कृति र पहिचान मेटिएको, विधिको शासनको धज्जी उडेको, भ्रष्टाचार र बेरोजगारी व्यापक रूपमा बढेको आरोप लगाएका छन्।


राप्रपाका नेता पूर्वमन्त्री एवं उपसभामुख स्वर्गीय रामविलास यादवको महोत्तरीको एकडारा गाउँ पालिकामा निर्मित शालिकको अनावरण गर्दै थापाले निष्ठा, इमानदारी र आदर्शको राजनीति कमजोर भएको भन्दै केही सीमित दलका सीमित नेताहरूको सिन्डिकेटबाट मुलुक आक्रान्त भएको समेत दाबी गरे।

ठूला-ठूला भ्रष्टाचार काण्डमा आफूलाई ठूला भन्ने राजनीतिक दलका नेताहरूको संलग्नता भएको भन्दै थापाले आफ्नो स्वार्थ सिद्ध गर्नको लागि कानुनलाई समेत हातमा लिने दुष्प्रयास भैरहेको भन्दै थापाले यस्तो अक्षम्य काम नगर्न राजनीतिक दलहरूलाई आग्रह गरे ।

लोकतन्त्रको आबरणमा देशमा लुटतन्त्र मच्चाइएको भन्दै थापाले राजा, हिन्दु राष्ट्र, एकात्मक राज्य प्रणाली अन्त्यपछि देश बन्छ, स्थिरतामा पुग्छ, समृद्धि आउँछ भन्नेहरूले आज मुलुकलाई कहाँ पुर्‍याए भन्दै उनले प्रश्नसमेत गरे।

अध्यक्ष थापाले स्वर्गीय रामविलास यादव राष्ट्रवादी, विकासप्रेमी र सदैव मधेसी जनताको हितमा क्रियाशी व्यक्ति भएको बताए।

कार्यक्रममा राप्रपा नेपालका उपाध्यक्ष राजीव पराजुली, विभिन्न पार्टीका नेताहरू, स्थानीय जनप्रतिनिधि लगायतले स्वर्गीय यादवको व्यक्तित्वबारे चर्चा गरेका थिए।