FLASH NEWS

पश्चिम बंगालको पञ्चायत चुनाव हिंसात्मक, १२ जनाको मृत्यु


नेपाल आवाज २४ असार २०८०, आईतवार ०८:५१ मा प्रकाशित १५३१ पाठक संख्या

काठमाडौं – भारतको पश्चिम बंगालमा भएको पञ्चायत चुनाव हिंसात्मक बनेको छ। शनिवार भएको मतदानका क्रममा राज्यका विभिन्न स्थानमा हिंसा भड्किएको खबर छ।


हिंसात्मक घटनामा अहिलेसम्म १२ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएका बताइएको छ। गैरसरकारी स्रोतको दाबीअनुसार मृतकको संख्या अझै बढी छ।

सरकारी सूत्रका अनुसार चुनावका क्रममा ठूलो मात्रामा हिंस्रक झडपका साथै आगजनी, बुथ कब्जा र फर्जी मतदानका कयौँ घटना भएका छन्।

चुनाव आयोगको तथ्यांक अनुसार ठूलो संख्यामा हिंसाबीच साँझ ५ बजेसम्म ६६.२८ प्रतिशत मतदान भएको छ।

चुनावका क्रममा सबैभन्दा ठूलो हिंसा मुर्शिदाबाद जिल्लामा भएको छ। त्यसका अलावा नदिया, कुचबिहार, मालदा, बर्दवान, उत्तर र दक्षिण २४-परगना जिल्लामा हिंस्रक भिडन्तका क्रममा मानिसले ज्यान गुमाए।

यसअघि सन् २०१८ को पञ्चायती चुनावमा त्यहाँ १० जनाले ज्यान गुमाएका थिए। हिंसाका लागि बीजेपी र कांग्रेसले सत्तारुढ दल तृणमूल कांग्रेसलाई आरोप लगाएका छन्। तृणमूलले भने सत्ताधारी पार्टीलाई बदनाम गर्न बीजेपी, कांग्रेस र सीपीएमले यस्तो आरोप लगाएको बताएको छ।

पश्चिम बंगालमा शनिबार एकै चरणमा पञ्चायत चुनाव भएको हो। चुनाव परिणाम ११ जुलाईमा घोषणा हुनेछ।