FLASH NEWS

धवल र लिङ्ग्देनबीच फेरी लफडा : १० करोडको हल्लाले राजावादी आन्दोलनमै बबाल


नेपाल आवाज २० जेष्ठ २०८२, सोमबार १५:३४ मा प्रकाशित ३२५२१ पाठक संख्या

काठमाडौं ।
निरन्तर सञ्चालन हुने भनिएको राजावादी आन्दोलन सुरु हुन नपाउँदै समाप्त हुने दिशामा पुगेको छ।

“हामी एक हौं” भन्ने सन्देश दिए पनि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल समशेर राणा बीचको गहिरो विवादका कारण आन्दोलनमा एकता देखिन सकेन।

लिङ्देन पुगेको स्थानमा धवल जान नचाहने र धवल पुगेको ठाउँमा लिङ्देन नपुग्ने अवस्था बनेपछि कुनै पनि दिनको प्रदर्शनमा दुबै नेता एकै ठाउँमा देखिएनन्।

गाउँ–गाउँ र कुना–कुना बाट आएका राजावादी समर्थकहरूलाई बस्ने र खाने व्यवस्था नमिल्दा आन्दोलनभित्रै नयाँ विवाद सुरु भएको छ।

नाम नखुलाउने सर्तमा एक स्रोतले भन्यो, “माथिबाट १० करोड रुपैयाँ आएको भनिएको छ, तर त्यो पैसा तल्लो तहसम्म आएन।

मैले आफैंले ल्याएको एक गाडी मानिसहरूको खर्च आफ्नै गोजीबाट तिरेँ। धेरै दिन राख्न नसक्ने भएपछि आज सबैलाई घर पठाउँदै छु।

लिङ्देन–धवल विवाद समितिसम्म आइपुग्दा आन्दोलन नै सकिएको महसुस भयो। अब म पनि घर जान लागेँ।”

यसरी राजावादी अभियानमा देखिएको भद्रगोल अवस्था हेर्दा अब यो आन्दोलन कसरी अघि बढ्ला ?? भन्ने प्रश्न उठेको छ।

राप्रपाको आन्तरिक विवाद शान्त हुन सकेको छैन। अर्कोतर्फ, आन्दोलनमा सहभागी हुनेहरूको बसोबास, खानपान र यातायातको व्यवस्था समेत नहुनु,

अनि १० करोड रुपैयाँ आएको भनिए तापनि त्यो रकम कहाँ गयो ? भन्ने विषयमा कसैलाई थाहा नभएकोले राजावादी आन्दोलन अहिले घोचपेच र हल्लीखल्लीको घेरामा परेको छ।