काठमाडौं — दरबार हत्याकाण्डमा दिवंगत राजपरिवारको सम्झनामा आज आयोजना हुन लागेको दीप प्रज्ज्वलन कार्यक्रम भव्य रूपमा सम्पन्न हुने तयारी गरिएको छ। कार्यक्रममा पूर्वराजपरिवारका सदस्यहरूका साथै राजसंस्थाप्रेमी नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहनेछ।
राजसंस्था पुनर्स्थापना अभियानका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिले आज राजा वीरेन्द्रको स्मृति दिवसका अवसरमा तय गरिएका आन्दोलनका कार्यक्रमहरू स्थगन गरेको छ। समितिका संयोजक नवराज सुवेदीले दिवंगत राजपरिवारको सम्झनामा हुने दीप प्रज्ज्वलन कार्यक्रममा सबैलाई सहभागी हुन आग्रह गरेका छन्।
उक्त कार्यक्रम राष्ट्रिय सरोकार मञ्च नामक संस्थाको आयोजनामा हुँदैछ। हिमानी ट्रस्टको फेसबुक पेजमार्फत दिइएको जानकारी अनुसार, दीप प्रज्ज्वलन आज साँझ ६:३० बजे काठमाडौंको कमलादी गणेशस्थानमा गरिनेछ। सुरुमा नारायणहिटी दरबार परिसरस्थित श्री चतुर्ब्यूह नारायणधाम मन्दिरमा कार्यक्रम गर्न भनिए पनि प्रशासनले अनुमति नदिएपछि स्थान परिवर्तन गरिएको हो।
कार्यक्रममा काठमाडौं उपत्यकामा बसोबास गरिरहेका पूर्वराजपरिवारका सदस्यहरू सहभागी हुनेछन्। पूर्वयुवराज पारस शाह, पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयन्द्र शाह विशेष रूपमा उपस्थित हुने बताइएको छ। पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह भने हाल झापामा रहेका कारण कार्यक्रममा उपस्थित नहुने भएका छन्।
राजावादी धारका नेताहरू पनि कार्यक्रममा सहभागी हुने तयारीमा छन्। संयोजक सुवेदीसहित संयुक्त जनआन्दोलन समितिका पदाधिकारीहरू, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहित पार्टीका थुप्रै नेता-कार्यकर्ताहरूको उपस्थिति रहनेछ।
यसैबीच, जिल्ला प्रशासन कार्यालयले हिजो काठमाडौंका तीन स्थानबाहेक अन्य क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ, जसअनुसार पाँच जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ। तर, प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार यस किसिमका पूर्वनिर्धारित कार्यक्रमहरू प्रशासनसँग समन्वय गरी सञ्चालन गर्न सकिनेछ।
यो धार्मिक प्रकृतिको कार्यक्रम भएकाले प्रशासनले हस्तक्षेप गर्ने तयारी नभएको तर, अत्यधिक भिडभाड भई अवस्था अस्थिर भएमा भने प्रहरीले हस्तक्षेप गर्न सक्ने कुरा प्रशासनले बताएको छ।