दैलेख, असार ५ – नेपालको ऊर्जा भविष्य उज्यालो बनाउने ठोस संकेत दैलेखको जलजले क्षेत्रबाट देखा परेको छ। चीनको जियोलोजिकल सर्भे कम्पनीले गरेको प्रारम्भिक अनुसन्धान प्रतिवेदनअनुसार जलजले क्षेत्रमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको विशाल भण्डारण पुष्टि भएको छ।
२०७८ साल वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो ड्रिलिङ चार हजार १३ मिटर गहिराइमा पुर्याइएको थियो। सो ड्रिलिङबाट संकलित नमुनाको परीक्षणमा प्राप्त नतिजा अत्यन्त सकारात्मक देखिएको हो। यो जम्मा चारवटा सम्भावित खानी क्षेत्रमध्ये पहिलो कुइँकानको मात्र प्रारम्भिक नतिजा हो। बाँकी तीन कुइँकानको अनुमानित विवरण अनुसार यो क्षेत्रमै करिब ४३० अर्ब घनमिटर ग्यास हुने प्रक्षेपण गरिएको छ, जसले करिब ५० वर्षसम्म नेपालको ग्यास आवश्यकतालाई पूर्ति गर्न सक्छ।
नेपाल–चीन बीच सन् २०१९ मा भएको जिटुजी सम्झौताअनुसार सुरु गरिएको यो परियोजना खानी तथा भूगर्भ विभागको ‘पेट्रोलियम अन्वेषण प्रवद्र्धन परियोजना’ अन्तर्गत सञ्चालन भइरहेको हो। विभागका उप–महानिर्देशक तथा परियोजना प्रमुख दिनेशकुमार नापितका अनुसार यो हालसम्मकै वैज्ञानिक, गहिरो र सुव्यवस्थित अन्वेषण कार्य हो। चीनको अनुदानमा सञ्चालित यस पाइलट परियोजनाको प्रारम्भिक लागत दुई अर्ब ५० करोड रुपैयाँ रहेको बताइएको छ।
हाल प्राप्त प्रतिवेदन प्रारम्भिक चरणको भए पनि ग्यासको गुणस्तर, व्यावसायिक सम्भाव्यता तथा आर्थिक लाभबारे थप विस्तृत परीक्षण भइरहेको छ। चिनियाँ कम्पनीले सन् २०२५ डिसेम्बरसम्म अन्तिम प्रतिवेदन दिने योजना बनाएको छ। त्यसपछि व्यावसायिक उत्पादन परीक्षण सुरु गर्ने सरकारको तयारी छ।
स्थानीयवासीका अनुसार दैलेखको भूमिबाट आफैँ बल्ने ग्यास र तेलजस्तै पदार्थ निस्कने दृश्य नयाँ होइन। तर वैज्ञानिक रूपमा यसको पुष्टि गर्दै व्यावसायिक उत्पादनसम्मको सम्भावना स्थापित गर्न २०३६ सालदेखि निरन्तर प्रयास भइरहेको थियो। २०७२ सालको भारतीय नाकाबन्दीपछि सरकारले स्वदेशी ऊर्जा स्रोतप्रति चासो दिँदै दैलेखमा पेट्रोलियमको सम्भाव्यता अध्ययनमा तीव्रता दिएको थियो।
जियोलोजिकल सर्वेअन्तर्गतको अन्वेषणमा संलग्न नेपाली–चिनियाँ प्राविधिक समूहले शिरस्थान र नाभिस्थान क्षेत्रबाट निरन्तर बगिरहेको ग्यास पेट्रोलियम पदार्थ नै भएको पुष्टि गरिसकेको छ। प्रारम्भिक रूपमा छ–सात स्थानमा ग्यास तथा तेलको सम्भावना उच्च देखिएको छ तर कति परिमाणमा छ भन्ने कुरा स्पस्ट छैन ।
स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकाय यो विकासबाट उत्साहित भएका छन्। उद्योग वाणिज्य सङ्घ दैलेखका अध्यक्ष नरेन्द्र थापाका अनुसार अन्वेषणपछि रोजगारी, पूर्वाधार र उद्योगमैत्री वातावरण विस्तार हुँदै गएको छ।
यदि प्रारम्भिक अनुमान अनुसार नै ग्यासको भण्डारण पुष्टि भएमा नेपाल इन्धन आयातमा निर्भर हुनुपर्ने अवस्थाबाट मुक्त भई स्वदेशी स्रोतबाट ऊर्जा उत्पादन गर्न सक्षम हुनेछ ।