काठमाडौं, ७ असार । इरान र इजरायलबीचको जारी युद्धमा इरानले पछिल्लो ७० घण्टादेखि इन्टरनेट बन्द गरेको छ । इरानमा इन्टरनेट बन्द भएको ७० घण्टा भइसकेको र इन्टरनेट बन्द हुँदा घरमै बसेर इन्टरनेटमा काम गरेर जीविका चलाउनेहरु बढी प्रभावित भएका छन् । जसका कारण इरानी जनताले बाहिरी संसारसँग पनि सम्पर्क गर्न कठिन भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आजको संसारमा सबै कुरा अनलाइन भएकाले मानिसहरूले इन्टरनेट विना न त आफ्नो व्यक्तिगत काम गर्न सक्छन् न त आधिकारिक काम नै । इन्टरनेट विना मानिसहरू न त एकअर्कासँग कुरा गर्न सक्छन् न त लेनदेन गर्न नै ।
मिडिया रिपोर्टका अनुसार इरानी सरकारले इजरायली साइबर आक्रमणबाट बच्न इन्टरनेट बन्द गर्ने निर्णय गरेको हो । जारी इरान–इजरायल युद्धमा दुवै देशले एकअर्कामाथि हवाई आक्रमणहरू निरन्तर जारी राखेका छन् । इजरायलले आफ्नो लक्ष्य प्राप्त नगरेसम्म इरानमाथि आक्रमण नरोकिने दाबी गरेको छ ।
यता इरानले इजरायलले आक्रमण रोकेमा उसले पनि बदला लिन बन्द गर्ने, अन्यथा उसले आफ्नो पूर्ण शक्ति प्रयोग गरेर बदला लिने जनाएको छ । इजरायलले शुक्रबार राति इरानमा हवाई आक्रमण र क्षेप्यास्त्र प्रहार गरेको थियो । १५ वटा इजरायली लडाकु विमानहरूले ३० भन्दा बढी आधुनिक हतियार र ब्यालिस्टिक क्षेप्यास्त्रहरूसहित पश्चिमी इरानमा रहेका इरानी सैन्य अड्डाहरू र प्रक्षेपण स्थलहरूलाई लक्षित गरेका थिए ।
शुक्रबार दिउँसो इरानले उत्तरी इजरायलको बन्दरगाह शहर हाइफामा क्षेप्यास्त्र प्रहार गरेको थियो । आक्रमणमा कम्तिमा १९ जना घाइते भएका थिए । क्षेप्यास्त्र आक्रमणबाट बन्दरगाह वरपर बनेका भवन र मस्जिदहरू ध्वस्त भएका थिए ।