FLASH NEWS

अमेरिकी आक्रमणपछि इरान आक्रोशित


नेपाल आवाज ८ असार २०८२, आईतवार ०९:५६ मा प्रकाशित २११ पाठक संख्या

काठमाडौं, ८ असार । इजरायल र इरानबीचको जारी युद्ध आज १०औं दिन हो । दुवै देशले एकअर्कामाथि लगातार क्षेप्यास्त्र प्रहार गरिरहेका छन् । यसक्रममा अमेरिकाले पनि इरानविरुद्धको आक्रमणमा सामेल हुँदै इरानका ३ वटा आणविक स्थलहरू आक्रमण गर्‍यो ।


अमेरिकी वायुसेनाले इरानका तीन आणविक स्थलहरू फोर्डो, नातान्ज र इस्फहानमामा आक्रमण गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समय अघि अमेरिकी वायुसेनाले इरानमा गरेको हवाई आक्रमणको बारेमा जानकारी दिएका थिए ।

ह्वाइट हाउसका अधिकारीका अनुसार इरानमाथि अमेरिकी आक्रमणपछि ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीच फोनमा कुराकानी भएको छ । नेतान्याहूले ट्रम्पलाई बधाई दिएका छन् । नेतान्याहूले अमेरिकाले इरान भित्र आणविक स्थलहरूमा बम खसालेपछि ट्रम्पलाई बधाई दिएका हुन् ।

नेतान्याहूले भनेका छन्– धन्यवाद राष्ट्रपति ट्रम्प, तपाईंले इरान भित्रका आणविक अड्डाहरूमा आक्रमण गर्ने कडा कदम चाल्नुभएको छ । यसले इतिहास बदल्नेछ ।

अमेरिकी आक्रमणपछि इरान आक्रोशित बनेको छ । उसले अब जारी युद्ध झन् चर्कने बताएको छ । इरानको आणविक ऊर्जा संगठनले केही समयमा अमेरिकी आक्रमणको बारेमा विज्ञप्ति जारी गर्ने इरानको सरकारी समाचार एजेन्सी आईआरआईबीले बताएको छ ।

इजरायल र इरानबीचको युद्धमा अमेरिकाको प्रवेशसँगै तेस्रो विश्वयुद्ध सुरु हुनसक्ने अड्कलबाजी भइरहेको छ ।