काठमाडौं, ९ असार । अमेरिकाले विश्वभर यात्रा गर्ने आफ्ना नागरिकहरूका लागि ट्राभल एडभाइजरी जारी गरेको छ । अमेरिकी विदेश मन्त्रालयले धेरै देशहरूमा अमेरिकीहरू विरुद्ध विरोध प्रदर्शन हुनसक्ने भन्दै सतर्क रहन भनेको हो । उसले ट्राभल एडभाइजरी पढेपछि मात्रै आफ्नो यात्राको योजना बनाउन पनि आफ्ना नागरिकलाई आग्रह गरेको छ ।
इजरायल र इरानबीचको जारी युद्धमा अमेरिकाले आइतबार इरानमा आक्रमण गरेको थियो । जसका कारण मध्यपूर्वमा बढ्दो तनावलाई मध्यनजर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई ट्राभल एडभाइजरी गरेको हो ।
गत जुन १२ देखि इरान र इजरायलबीच चलिरहेको युद्धमा इरानविरुद्ध अमेरिका प्रतिद्वन्द्वी बनेको छ । अमेरिकाले इरानका ३ वटा (फोर्डो, नातान्ज र इस्फहान)मा आणविक स्थलमा आक्रमण गरेको थियो ।
यसैबीच, अमेरिकाको आक्रमणपछि इरानले इजरायलविरुद्ध ‘अप्रेशन अनेस्ट प्रमिस ३’ सुरु गरेको छ । यसअन्तर्गत इजरायलको राजधानी तेल अभिभ लगायत धेरै शहरहरूमा ब्यालिस्टिक र लामो दूरीका क्षेप्यास्त्रहरू प्रहार गरेर द्रुत आक्रमणहरू भइरहेको छ । बदलामा इजरायलले इरानको राजधानी तेहरान, केरमानशाह र हमादानमा पनि हवाई आक्रमण गरेको छ ।