FLASH NEWS

सरकारले बनाएको छानबिन समिति रास्वपालाई अस्वीकार्य, संसद अवरोधबाट पछि नहट्ने


नेपाल आवाज १० असार २०८२, मंगलवार ११:३१ मा प्रकाशित २११ पाठक संख्या

काठमाडौं, १० असार । भिजिट भिसाको विषयमा छानबिन गर्न हिजो मन्त्रिपरिषदले गठन गरेको छानबिन समितिलाई संसदमा आन्दोलनरत दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वीकार नगर्ने भएको छ । आजको संसद बैठकमा पार्टीको अडान परिवर्तन नहुने पार्टीका प्रवक्ता मनिष झाले बताए ।


छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै रास्वपाले संसद बैठकमा वेल घेराउ तथा बहिष्कार गर्दै आएको छ । यद्यपि, रास्वपाको अवरोधकै बीच पनि सभामुख देवराज घिमिरेले बैठकलाई निरन्तरता दिइरहेका छन् । आज संसद बैठकबाट बजेट पारित गर्ने कार्यसूची छ । यो प्रक्रियामा पार्टीको सहभागिता नरहने प्रवक्ता झाले जानकारी दिए ।

आजको बैठकमा कसरी प्रस्तुत हुने भन्ने रास्वपाले निर्णय लिन बाँकी छ । यस विषयमा छलफलका लागि अहिले पार्टी संसदीय दलको अनौपचारिक बैठक बसिरहेको छ । वेल घेराउ गर्ने कि बहिष्कार गर्ने वा विरोधका अन्य स्वरूपमा जाने भन्ने छलफलले निर्णय लिने झा बताउँछन् ।

वैरागी संयोजक बन्न ‘अयोग्य’ ठहर

हिजो राति बसेको मन्त्रिपरिषद बैठकले पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको थियो । समितिलाई छानबिनका लागि एक महिनाको समय दिइएको छ । सम्बन्धित मन्त्रालयका सहसचिवहरू छानबिन समितिमा सदस्य रहनेछन् ।

रास्वपाले भने छानबिनमा तानिनुपर्ने गृहमन्त्री आफैँले प्रस्ताव लगेर समिति गठन भएकोप्रति नै आपत्ति जनाएको छ ।

झा भन्छन्, ‘उहाँ आफैँ आरोपित हो । एउटा आरोपितले आफूमाथि छानबिन गर्न आफैँले समिति बनाउने कुरा अस्वाभाविक छ । यो केवल उहाँलाई सुनपानी छर्किनका लागि गरिएको प्रपञ्च मात्र हो । हामी यसलाई स्वीकार गर्दैनौँ ।’

छानबिनको माग गरिएको रास्वपासित कुनै पनि छलफल नगरीकन एकतर्फी रूपमा बनाइएको समितिले निष्पक्ष कार्यसम्पादन गर्न नसक्ने उनको जिकिर छ । समितिको संयोजक तोकिएका वैरागीको विषयमा पनि उनले प्रश्न उठाए ।

‘उहाँ आफैँ बलियो नैतिक पृष्ठभूमि भएको व्यक्ति होइन । त्यसमाथि अहिले कता राजनीतिक नियुक्त पाइन्छ भनेर पर्खेर बस्नुभएको छ । अनि उहाँले सरकारका गृहमन्त्रीमाथि निष्पक्ष छानबिन गर्नुहुन्छ भनेर हामीले विश्वास गरिदिनुपर्ने रु’ झाले भने ।