काठमाडौँ, ३१ असार । राप्रपाका प्रमुख सचतेक ज्ञानबहादुर शाहीले भ्रष्टाचार आरोपी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल पक्राउ गरी छानबिन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद शाहीले सार्वजनिक भएको मन्त्रीको अडियो प्रकरणको छानबिनका लागि सम्बन्धित मन्त्रीलाई प्रक्राउ गर्न माग गरेका हुन् ।
पहिले पहिले एउटा चलन थियो, अहिले पनि छ । ज्ञान नपाए कासी जानू, न्याय नपाए गोरखा जानू, भ्रष्टाचार गर्न नपाए केपी ओली सरकारको क्याबिनेटमा आउनू शाहीले भने । त्यस्तै अडियो टेप सार्वजनिक भएको र पैसा लेनदेन भएको अवस्थामा राजीनामा मात्र दिएर उम्कन नपाइने प्रमुख सचेतक शाहीको भनाइ छ ।
हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग बनाएका छौं यो देशमा । आयोगले के गरेर बसेको छ सम्माननीय सभामखु महोदय ? गृहमन्त्रालय अन्तर्गतका युनिटहरुले के हेरेर बसेका छन् ? मन्त्रीले राजीनामा दिने बित्तिकै समस्या समाधान हुन्छन् ? मन्त्रीलाई तत्काल पक्राउ गरियोस् र छानबिन गरियोस् । त्यति मात्र होइन अन्य मन्त्रीमाथि पनि छानबिन गरियोस्, उनले भने ।
यता शाहीको अभिव्यक्तिप्रति नेकपा एमालेकी सांसद सुनिता बरालले आपत्ति जनाएकी छिन् । आजको प्रतिनिधिसभा बैठकमा शाहीले ‘भ्रष्टाचार गर्न नपाए ओली क्याबिनेटमा जानू’ भन्ने अभिव्यक्ति दिएपछि बरालले आपत्ति जनाएकी हुन् ।
उनले नेतृत्वमाथि अनर्गल आरोप लगाइएको भन्दै शाहीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेकी हुन् । संसद्लाई जे पनि बोल्न र जस्तो आरोप पनि लगाउन पाइने थलो बनाउन नहुने उनको भनाइ छ ।
‘यो संसद्मा जे पनि बोल्न पाइने र जस्तो पनि आरोप लगाउन पाइने जुन प्रकृति र जुन अभ्यास बढिरहेको छ’, बरालले भनिन्, ‘पूर्ववक्ता माननीयले जसरी सरकारको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्रीको नामै उल्लेख गरेर संगीन आरोप लगाउनुभयो । यो विषयमा हाम्रो दलको गम्भीर ध्यानाकर्षण भएको छ सभामुख महोदय । यो विषय रेकर्डबाट हटाइनुपर्छ, उनले भनिन् ।’
