FLASH NEWS

तीनकुने घटना : संसदीय छानबिन समिति गठन गर्न राप्रपाको माग


नेपाल आवाज १० श्रावण २०८२, शुक्रबार १४:५३ मा प्रकाशित १८९१ पाठक संख्या

काठमाडौँ, ९ श्रावण रा प्रपाका सांसद धवल शमशेर जबराले चैत १५ गते भएको तीनकुने घटनाको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद जबराले यस्तो माग राखेका हुन् ।


सरकारले राजावादी विचार बोकेकै भरमा आफूहरुमाथि झुटा मुद्दा लगाएको उनको टिप्पणी छ । न्यायपालिकाले तीनकुने घटनालाई सत्यतथ्य रूपमा न्याय निरुपण गर्ने कुरामा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

‘हामी र हामीले बोकेको विचारलाई निरुत्साहित गर्ने उद्देश्यले देशद्रोह र संगठित अपराधसहित चारवटा झुटा मुद्दा लगाइएको छ। मलाई विश्वास छ कि यो मुलुकको गरिमामय न्यायालयले दूधको दूध र पानीको पानी गरी निष्पक्ष न्याय दिनेछ । म संसद्‍मार्फत माग गर्न चाहन्छु, तीनकुने घटनाको छानबिन गर्न संसदीय छानबिन समिति गठन गरौं ।

यस्तो घटनाको पनि छानबिन नगरेर हामी के को छानबिन गर्ने? र दोषट्ठलाई कारबाही र निर्दोषलाई न्याय मिलोस्,’ उनले भने । राज्यको कमजोर सुरक्षा संयन्त्रको कारण तीनकुने घटना घटेको उल्लेख गर्दै पक्राउ परेका सबै राजावादी समूहका नेता कार्यकर्तालाई रिहा गर्न समेत उनको माग छ ।