काठमाडौं । बालाजु शैक्षिक मञ्चले ’उज्यालो भविष्यको लागि शिक्षामा नवीनता’ भन्ने शिर्षकमा एक दिवसीय शैक्षिक गोष्ठी बुधबार सम्पन्न गरेको छ । गोष्ठीमा शिक्षा क्षेत्रका विज्ञ तथा विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक, विद्यार्थी तथा नीति निर्माताहरूको सहभागिता रहेको थियो । विद्यार्थीहरु आफैं कार्यक्रम सञ्चालकदेखि वक्तासम्म थिए । जसमा विद्यार्थीहरुले पछिल्लो पुस्ताको सामाजिकिकरण छ कि छैन?, के कुराले सामाजिकिकरण हुनबाट बन्चित गर्यो ? यो पुस्तालाई सामाजिक सञ्जालले सामाजिकिकरण हुनबाट कसरी रोक्यो/ सामाजिकिकरण हुन के गर्नुपर्ला ? जस्ता बिषयमा गम्भीर प्रश्न गर्दै समस्या र त्यसको समाधान बारे समेत छलफल गरे ।
विद्यार्थीहरुले शिक्षामा नवीनतम प्रविधिको उपयोग, सिर्जनात्मक शिक्षण विधि र समावेशी नीतिहरूका बारेमा आफ्ना विचार राख्दै नेपालमा गुणस्तरीय र समतामूलक शिक्षा सुनिश्चित गर्न सबै सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेकोमा जोड दिए ।उक्त गोष्ठीमा कलिलो उमेरका विद्यार्थीहरुले अत्यन्तै परिपक्क बहस र छलफल गरेका थिए । उनीहरूले विद्यार्थीप्रति समाजको, परिवारको अपेक्षा कस्तो छ भन्दै बहस गरिरहेका थिए । विद्यार्थी इच्छा चापागाईंले सहजीकरण गरेको एक सत्रमा विद्यार्थीहरू भूमिका परियार, कुसुम खतिवडा, परिशा श्रेष्ठ, सुनारिका मल्लले नयाँ पुस्तामा सामाजिकिकरण हुन कतिको चुनौती छ, पढाइ, परिवार लगायत विषयमा मानसिक स्थितिले कसरी काम गर्छ भन्नेबारे छलफल गरेका थिए ।
उनीहरूले पढाइका क्रममा जीपीएको प्रेसर र अतिरिक्त क्रियाकलाप लगायतको विषयमा पनि बहस गरेका थिए । उनीहरूले कक्षाकोठमा शिक्षकको, घरमा अभिभावकको गतिविधि र त्यसले विद्यार्थीमा हुने प्रगति तथा दबाबबारे खुलेर छलफल गरेका थिए । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाअध्यक्ष श्रेष्ठले विद्यार्थीहरूको प्रस्तुति उत्कृष्ट लागेको बताइन् । ‘हामीले अब यस्तै कार्यक्रम महानगरमा पनि गर्ने प्लान गर्छौँ । विद्यार्थीहरूको क्षमता देख्ने अवसर पायौँ, अहिले युवाहरूमा पनि सामाजिक र राजनीतिक चेत छ भन्ने देखियो,’ उनले भनिन् ।
गोष्ठीमा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूले अन्तरक्रियात्मक छलफलहरू गरेका थिए । दिगो विकास, महिला अधिकार, शिक्षा प्रणालीमा राजनीति, कक्षाकोठालाई पुनः परिभाषित गर्दै गरेको कृत्रिम बुद्धिमत्ता (एआई) को भूमिका, शैक्षिक सामाजिक जीवन र मानसिक स्वास्थ्य सन्तुलन सामाजिक चेतना, राजनीतिक रुचि, समावेशिता र आधुनिक प्रविधिजस्ता ज्वलन्त मुद्दाहरू छलफलमा समेटिएका थिए । ती मुद्दाहरुमा विद्यार्थीहरुले प्रश्नउत्तरको माध्यमबाट व्यवस्थित छलफल गरेका थिए ।
कार्यक्रमको अन्तिम शत्रमा काठमाडौ महानगर वडा १६ कि अध्यक्ष रोजिना श्रेष्ठ र बालाजु शैक्षिक मञ्चका अध्यक्ष डीएन अधिकारी वक्ता थिए । सत्रमा तीन विद्यार्थीले दुबै जनालाई प्रश्नहरू सोधेका थिए । उनिहरुले नेपालको शिक्षा क्षेत्रमा भएका समस्या बारे र त्यसका समाधान बारे प्रश्नोत्तर गरेका थिए । एक सत्रमा सोही वडाकी वडाध्यक्ष रोजिना श्रेष्ठ र बालाजु शैक्षिक मञ्चका अध्यक्ष डीएन अधिकारी वक्ता थिए । सत्रमा तीन विद्यार्थीले प्रश्नहरू दुवै जनालाई सोधिरहेका थिए । सोही क्रममा विद्यार्थी विभूति भण्डारीले वडाध्यक्ष श्रेष्ठलाई सोधिन्, ‘यति ठुलो काठमाडौंको एक मात्रै महिला वडाध्यक्ष हुन कति सहज हुन्छ ?’
जवाफमा वडाध्यक्ष श्रेष्ठले सहज बनाउन खोजिरहेको बताइन् । भनिन्, ‘म आएको धेरै भएको छैन, उपनिर्वाचन भएर आएको हो । सजिलो त पक्कै छैन, तर म आएपछि सहजीकरण गरेका काम गर्ने प्रयास गरिरहेको छु । महिलाहरू पनि अगाडि बढ्न सक्छन् है भनेर म नयाँ पुस्ताका भाइबैनीहरूलाई भन्न चाहन्छु,’ श्रेष्ठले भनिन् । उनलाई विद्यार्थीले थप प्रश्न सोधेका थिए । अर्की विद्यार्थी दिपना श्रेष्ठले सोधिन्, ‘त्यसोभए वडा चलाउन कत्तिको गाह्रो हुन्छ ?’ वडाध्यक्ष श्रेष्ठले जवाफ दिइन्, ‘मलाई धेरै ठाउँमा त गाह्रो भएको छैन तर केही ठाउँमा राजनीतिक आस्थाको कारण काम गर्न, योजना सम्पन्न गर्ने कुरामा असहज पक्कै भएको छ,’ रोजिनाले थपिन्, ‘पहिले वडा कार्यालयमा आउने सेवाग्राहीहरूले वडाध्यक्ष नभेटेको, सहज पहुँच नभएको भन्दै गुनासो गरिरहेका हुन्थे तर अहिले म आएपछि त्यो समस्या समाधान भएको छ ।’
अर्की विद्यार्थी स्तुति गिरीले विद्यार्थीकालमा कसरी पढेको, के उद्देश्य थियो भन्ने प्रश्न गरेकी थिइन् । यस्तै उनीहरूले वडाध्यक्ष श्रेष्ठ र बालाजु शैक्षिक मञ्चका अध्यक्ष डीएन अधिकारीलाई सामुदायिक विद्यालय र निजी विद्यालयको फरकबारे प्रश्न गरेका थिए । उनीहरूले विद्यार्थीहरूलाई पढाउने शैलीको विषयमा पनि बहस गरेका थिए । १६ नम्बर वडाको ८ वटा निजी विद्यालयबाट सहभागी विद्यार्थीले गरेको बहस परिपक्व सुनिन्थ्यो । उनीहरूले विद्यार्थीप्रति समाजको, परिवारको अपेक्षा कस्तो छ भन्दै बहस गरिरहेका थिए ।
विद्यार्थी इच्छा चापागाईंले सहजीकरण गरेको एक सत्रमा विद्यार्थीहरू भूमिका परियार, कुसुम खतिवडा, परिशा श्रेष्ठ, सुनारिका मल्लले नयाँ पुस्तामा सामाजिक हुन कतिको चुनौती छ, पढाइ, परिवार लगायत विषयमा मानसिक स्थितिले कसरी काम गर्छ भन्नेबारे छलफल गरेका थिए ।
उनीहरूले पढाइका क्रममा महिनावारीको समस्या, जीपीएको प्रेसर र अतिरिक्त क्रियाकलाप लगायतको विषयमा पनि बहस गरेका थिए । उनीहरूले कक्षाकोठमा शिक्षकको, घरमा अभिभावकको गतिविधि र त्यसले विद्यार्थीमा हुने प्रगति तथा दबाबबारे खुलेर छलफल गरेका थिए ।
गोष्ठीमा मञ्चका अध्यक्ष डीएन अधिकारीले बिगत २ वर्षदेखी यस्ता क्रियाकलाप गर्ने गरेको जानकारी गराए । साथै उहाँले विद्यार्थिहरुको बहसलाई बिज्ञहरुले समेत सिक्नुपर्ने बताए ।

