FLASH NEWS

लुम्बिनी प्रदेशमा मन्त्रालय भागबण्डामै कुरा मिलेन, माओवादीभित्रै पनि असन्तुष्टि


नेपाल आवाज २८ पुष २०७९, बिहीबार १२:५४ मा प्रकाशित १७५३ पाठक संख्या

बुटवल ।  लुम्बिनी प्रदेशमा बिहीबार मुख्यमन्त्री लगायत अन्य मन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने भनिए पनि मन्त्रिपरिषदकाे भागबण्डा नमिलेपछि मुख्यमन्त्री लिला गिरीको मात्र शपथ हुने देखिएको छ ।


मुख्यमन्त्री एमालेले पाएपछि अर्थ र शहरी विकास मन्त्रालय माओवादीले माग गरेको छ । तर, एमालेले दिन आनाकानी गरेपछि माओवादी बाट मन्त्रिमण्डलमा प्रस्तावित गरिएका नेताहरुले शपथ बहिस्कार गर्ने तयारी गरेको माओवादी स्रोतले दाबी गरेको छ । माओवादीको बटम लाईनमा अर्थ र पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय रहेकोमा एमालेले ती मन्त्रालयहरु दिन आनाकानी गरेपछि शपथमा सहभागी नहुने तयारी गरिएको स्रोतको दाबी छ ।

प्रदेश प्रमुखको कार्यालयले बुटवलमा मुख्यमन्त्रीको नियुक्ति गरेर देउखुरीमा शपथ गराउने तयारी गरेपनि माओवादी नेताहरु दाबी गरिएको मन्त्रालय नपाए शपथमा नजाने अडानमा रहेका छन् । लुम्बिनी प्रदेश सभा परिसर राप्ती उपत्यका देउखुरीमा दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ ग्रहण समारोह राखिएको छ । मुख्यमन्त्रीले आजै कम्तीमा ३ सदस्सीय मन्त्रिपरिषद गठन गरी शपथ लिने तयारी गरेका छन् । एमाले, माओवादीको सहभागितामा सानो आकारमा मन्त्रिपरिषद् बनाउने तयारी गरेको नव नियुक्त मुख्यमन्त्री लिला गिरीले बताए । बाँकी दलहरुको लागि भने सत्ता गठबन्धनभित्र छलफल चलिरहेको गिरीले बताए ।

बिहीबार हुने सपथ ग्रहणमा नवनियुक्त मुख्यमन्त्री लिला गिरी सहित उपनेता चेतनारायण आचार्य र माओवादीबाट दलका नेता जोखबहादुर महरालाई शपथ गराउने तयारी भएको थियो । एमाले भित्र पनि मन्त्रालयको कुरा नमिलेपछि शुरुमा मुख्यमन्त्री सहित २ जना विनाबिभागिय मन्त्री नियुक्त गरी ३ सदस्सीय मन्त्रिपरिषद बनाउने तयारी भएको एमाले स्रोतको दाबी छ । एमालेभित्र पनि सहरी विकास मन्त्रालयमा चेतनारायण आचार्य र भूमिश्वर ढकालको दाबी रहेपछि विना विभागिय मन्त्री बनाउने तयारी भएको स्रोतले बतायो । राजधानी व्यवस्थापनमा सहरी विकास मन्त्रालयमा बढी बजेट रहने भएकाले माओवादी र एमालेको आँखा सो मन्त्रालयमा गएको हो । माओवादीले सहरीमा ईन्द्रजीत थारुलाई पठाउने तयारी गरेको छ ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले पनि मुख्यमन्त्रीको दाबी गरेका थिए । दाबी अनुसारको पहिलो नेतृत्व नपाए पछि महरा लुम्बिनी सरकारलाई समर्थन नगर्ने जनाए पछि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विशेष सहमति भएको बताइएको छ । सहमतिअनुसार पहिलो नेतृत्व अढाई बर्ष एमाले र दोस्रो नेतृत्व अढाई बर्ष माओवादीले आलोपालो सरकारको नेतृत्व गर्नेगरी सहमती भएको भनिएपछि मुख्यमन्त्री गिरीले भने सो सहमति भएको कुरालाई अस्वीकार गरिसकेका छन् ।

मुख्यमन्त्री र सभामुखमा केन्द्रीय निर्णयलाई समर्थन जनाए पनि मुख्यमन्त्रीमा एमालेले पहिलो नेतृत्व लिएपछि माओवादीले अर्थ मन्त्रालय र पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय पाउनु पर्ने दावी गरेका छन । माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले भने सपथमा माओवादीको सहभागिता रहने बताए । अध्यक्ष बरालले अर्थ र सहरीमा दाबी भएको कुरा सत्य भएको बताउँदै आज विना विभागिय मन्त्रीकारुपमा एकजना नेताले सपथ लिने जानकारी दिए । ‘कसलाई पठाउने भन्ने विषयमा छलफल जारी छ, तर एकजना माओवादीबाट सपथ लिन जानुहुन्छ,’ उनले भने ।

माओवादीका निवर्तमान मन्त्री तथा प्रदेशसभा सदस्य इन्द्रजित थारुले शक्ति सन्तुलन र सम्मानजनक भागवण्डा नभए माओवादीले सरकार गठनमा समर्थन गरेपनि सपथ ग्रहणमा सहभागी नहुने बताए । उनले मुख्यमन्त्री र सभामुखमा केन्द्रको निर्णय अनुसार भएपछि मन्त्रालय बाँडाफाँटमा एमालेले सहझदारी गर्नु पर्ने बताउँदै पेल्न खोजिए सपथमा नजाने जनाए । ‘शक्ति सन्तुलनका आधारमा सम्मानजनक स्थान नदिएर पेल्न खोजिए माओवादी सपथ खान जान सक्दैन ।’ उनले भने । अर्थ मन्त्रालयमा जोख बहादुर महरा र पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालयमा ईन्द्रजीत थारु र बाँकी एक मन्त्रालयमा बाँकेकी कृष्णा केसी नमुनाले दाबि गरेका छन । यी २ मन्त्रालय र अन्य १ गरी तिन मन्त्रालय टुङ्गो नलाग्दा सम्म माओवादीले सपथ ग्रहण नगर्ने गरि वार्ता गर्न माओवादी नेताहरुलाई सांसदहरुले दवाव दिएको स्रोतको दाबी छ ।