FLASH NEWS

अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज 


नेपाल आवाज १६ माघ २०७९, सोमबार १३:०९ मा प्रकाशित २२६३ पाठक संख्या

महोत्तरी ।  कर्तव्य ज्यान मुद्दामा फरार रहेका महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित लक्ष्मी कोइरी महतोको बचाउमा प्रदर्शन भएको छ ।


मधेस आन्दोलनका क्रममा प्रहरी असई थमन विकको हत्या अभियोगमा फरार रहेका कोइरी एमालेका सांसद हुन् भने उनी प्रहरीको फरार सूचीमा छन् । तर, उनको बचाउमा एमाले र कोइरी समाजमा उत्रिएको छ । कोइरीमाथि झुट्टा मुद्दा लगाएको भन्दै  नागरिक समाजको सहारामा  नेकपा एमाले प्रदर्शनमा उत्रिएको हो ।

११ माघमा जनकपुरमा प्रदर्शन गरेको एमालेले अभियुक्त कोइरीको गाउँ गौशालामा सोमबार पनि नागरिक समाजको नाममा नै  प्रदर्शन भएको छ । कुशाहा कल्याण समाज नामक कोइरी जातीय समूहले सांसद महतोलाई झुट्टा मुद्दा लगाएको बताउदै आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।

मधेश आन्दोलनका क्रममा मधुमेह र उच्च्च रक्तचापको समस्याका कारण घरमै स्वास्थ्यलाभ गरिरहेका बेला भएको असई थमनको हत्यामा सांसद कोइरीको कुनै संग्लनता नरहेको  कुशाहा कल्याण समाजले दाबी गरेको छ ।

नेकपा एमालेवाट महोत्तरी क्षेत्र न.१ मा निर्वाचित भएका संसद कोइरीलाइ पक्राउ गर्न प्रहरीले सक्रियता बढाएपछि उनी पुनः फरार भएका छन । केहीले उनी भारतको पटना रहेको बताए पनि उनी कहाँ छन भन्ने प्रहरीले एकीन गर्न सकेको छैन ।

२०७७ मा जनकपुर उच्च अदालतले पुर्पक्षका लागि उनलाई जेल चलान गर्न आदेश दिएको थियो । तर, फरार रहेकै बेला गत मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् । केही साताअघि सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।