FLASH NEWS

पाठेघर खसेका ३२ महिलाको निःशुल्क उपचार गरिदिने तयारी


नेपाल आवाज १७ माघ २०७९, मंगलवार १८:२५ मा प्रकाशित १३०३ पाठक संख्या

खोटाङ ।   खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पाठेघर खसेका महिलाको निःशुल्क उपचार गरिदिने तयारी गरेको छ । घर–घरमा स्वास्थ्यकर्मी खटाएर गरिएको स्वास्थ्य परिक्षणका क्रममा पहिचान भएका पाठेघर खसेका ३२ जना महिलाको निःशुल्क उपचारको तयारी गरेको हो ।


पाठेघर खसेका महिलाको पहिचानका लागि घर–घरमा स्वास्थ्यकर्मी पठाएको नगरपालिकाले पहिचान भएका पाठेघर खसेका महिलालाई बनेपा लगेर उपचार गर्ने प्रवन्ध मिलाइएको नगरपालिकाका स्वास्थ्य संयोजक प्रकाश घिमिरेले बताए ।

पाठेघर खसेका महिलाको शल्यक्रिया खर्च र उनीहरुको कुरुवालाई लाग्ने खर्च नगरपालिकाले ब्यहोर्ने जनाएको छ । पाठेघर खस्ने समस्याका कारण दर्दनाक दिनचर्य विताइरहेका महिलाको पहिचान गर्दै उपचार व्यवस्थाका लागि नगरपालिकाले गत माघ १ गतेदेखि माघ ९ गतेसम्म घर–घरमा स्वास्थ्यकर्मी पठाएको थियो ।

घर–घरमा पुगेर २२५ महिलाको पाठेघरको परीक्षण तथा उपचार गर्दा ३२ जनाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने अवस्था पत्ता लागेको हो । नगरपालिकाको ११ वडामध्ये बाहुनीडाँडा, बडहरे, मंगलटार बाहेक अन्य वडामा पाठेघर खस्ने समस्या पहिचान भएको हो । डिकुवामा २ जना, च्यास्मिटारमा ५ जना, दुर्छिममा ९ जना, महादेवस्थानमा ५ जना, धितुङमा २ जना, सल्लेमा २ जना, अर्खौलेमा ४ जना र राजापानीमा ३ जना महिलाको पाठेघरको शल्यक्रीया गर्नुपर्ने देखिएको नगरपालिकाले जनाएको छ ।

परीक्षण गरिएकामध्ये १०६ जनाको पाठेघरमा रिङ प्रेरी राखिएको छ । यस्तै, १०४ जना महिलाको पाठेघर सम्बन्धी संक्रामक रोगको उपचार गरिएको छ । पाठेघरको समस्या सुरु भएका महिलालाई आवश्यकता अनुसार औषधि वितरण र परामर्श प्रदान गरिएको स्वास्थ्य संयोजक घिमिरेले बताए । पाठेघरको समस्या भएका कतिपय महिला लाज मानेर स्वास्थ्य संस्था वा स्वास्थ्य शिबिरसम्म जान हिच्किचाउने गरेको पाइएपछि नगरपालिकाले स्वास्थ्यकर्मीलाई घर–घरसम्मै पठाएको थियो । पाठेघर झरेर पहिलो र दोश्रो स्टेजमा पुगेका महिलाको उपचारका लागि रिङप्रेसरी राख्ने, घाउ उपचारका लागि औषधि प्रदान गर्ने र तेश्रो र चौथो स्टेजमा पाठेघर खसेका महिलाको तथ्यांक संकलन गरेर उपचारको प्रवन्ध गर्न लागिएको हो ।

अघिल्लो वर्ष पनि नगरपालिकाले बाहुनीडाँडाको झाप्पा, अर्खौलेको नवलपुर, सल्ले र मंगलटारमा पाठेघर खस्ने समस्याको उपचार शिबिर सञ्चालन गरेको थियो । तर शिबिरमा पाठेघर खसेका महिलाको अपेक्षित उपस्थिति नरहेपछि घर–घरमा सहयोगी सहितको स्वास्थ्यकर्मी परिचालन गरिएको मेयर बिमला राईले बताईन् । गत शिबिरमा स्वास्थ्यकर्मीले खिचेको आङ सिरिङ पार्ने पाठेघर खसेको तस्विर देखेपछि स्वयं मेयर राईले पाठेघर खसेका महिलाको उपचारका लागि घर–घरमा स्वास्थ्यकर्मी पठाउने निर्णय गराएकी थिइन् ।