FLASH NEWS

बिषाक्त आहारा खाएर मरेका स्यालको सिनो खाँदा गिद्दको मृत्यु


नेपाल आवाज ३० फाल्गुन २०७९, मंगलवार ११:५४ मा प्रकाशित १९८७ पाठक संख्या

चितवन। पुर्वी नवलपरासीमा बिषात्त सिनो खाएर लोपोन्मुख गिद्ध मरेका छन् । कावासोती नगरपालिका–३, केरूङ्गे खोलामा विषाक्त सिनो खाएर तीनवटा गिद्ध मरेका हुन । झन्डै १ दर्जन गिद्ध बिरामी भएका छन् ।


कावासोती–३ को केरूङ्गे खोलामा मरेका तीनवटा स्यालको सिनो खाएका गिद्धहरु मरेकाे जटायु रेस्टुरेन्टका व्यवस्थापक ईश्वरी चौधरीले बताए । ‘प्रारम्भिक अनुसन्धान अनुसार बिषाद्यी खाएर मरेको स्यालको सिनो खाएका कारण गिद्धहरु मरेको देखिन्छ’ ईश्वरी चौधरीले भने ।

घरपालुवा जनावरले दुःख दिएपछि विष हालेको खाना वा कुनै आहार किसानले राखेको र सोही बिषाक्त खाना मृतक स्यालले खाएको हुन सक्ने अनुमान गरिएको छ  । बिष खाएर मरेको सोही स्यालको मासु खाएर गिद्ध मरेको डिभिजन वन कार्यालय नवलपुर कावासोतीका सहायक वन अधिकृत शिशिर लम्सालले बताए ।

उनका अनुुसार बिरामी परेका गिद्धको भने उपचार भईरहेको छ । उनका अनुसार जंगली जनावरको मासु खाएर गिद्ध मरेको घटना सम्भवतः नेपालमै यो पहिलो हो ।

गिद्ध मरेको र बिरामी परेको थाहा पाएपछि गिद्ध संरक्षणमा अभियान थालेका जटायु रेस्टुरेन्टका कर्मचारी, डिभिजन वन कार्यालयका कर्मचारी र जिल्ला प्रहरी कार्यालय नवलपुरका टोली घटनास्थल पुगेका थिए । विषाक्त सिनो खाएर डङ्गर जातको हिमाली गिद्ध मरेको र बिरामी परेको पाइए पछि थप मरेको वा बिरामी भएको हुन सक्ने भन्दै खोजी कार्य जारी राखिएको र सो खोजी कार्य केही दिन लाग्न सक्ने उनकाे भनाइ छ ।

दुई दिनअघि मात्र डङ्गर जातको १० वटा गिद्ध प्रजनन केन्द्रबाट हुर्काएर प्राकृतिक बासस्थान जंगलमा छाडिएको थियो ।गत वर्ष पनि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा विष खुवाएर मारिएका कुकुरको सिनो खादा ठूलो संख्यामा गिद्धहरु मरेका थिए ।