FLASH NEWS

हाम्रो नेपाली पार्टी र दुर्गा प्रसाईँको अभियानद्वारा चितवन–२ मा शम्भु थापालाई उठाउने घोषणा


नेपाल आवाज १९ चैत्र २०७९, आईतवार १९:०८ मा प्रकाशित १४७१ पाठक संख्या

काठमाडौं- दुर्गा प्रसाईँको नागरिक बचाउ महाअभियान र हाम्रो नेपाली पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा सहकार्य गर्ने भएका छन् । उनीहरुले आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उपनिर्वाचनमा सहकार्यका साथ सहभागी हुने जानकारी गराएका हुन् । उनीहरुले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा उम्मेदवारसमेत घोषणा गरेका छ । चितवन–२ मा कालोमोसो अभियानका संयोजक शम्भु थापा, तनहुँ–१ मा विष्णु पराजुली, बारा– २ मा चन्द्रप्रकाश सुवेदीलाई उम्मेदवार सिफारिस गरिएको छ । उपनिर्वाचनको लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ ।
उम्मेदवार घोषणा कार्यक्रममा सहभागी भएका शम्भु थापालाई नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईँले टिकट दिँदै चुनावचिन्ह लौरौ पनि थमाए । त्यसैगरी राजनीतिको वैकल्पिक शक्ति अब आफूहरु बन्ने प्रसाईंले दाबी गरे ।प्रसाईँले प्रचण्ड र केपी ओलीले नागरिकहरुलाई धेरै ढाँटेको आरोप लगाए । अब प्रचण्ड, ओली, रवि र राजेन्द्र लिङ्देनबाट देशले निकास नपाउने उनको भनाई छ । केही आशा गरिएका लामिछाने र लिङ्देनपनि ‘उही पोखरीमा गएर हाम फालेको’ उनको आरोप छ ।
हाम्रो नेपाली पार्टी (लौरो अभियान) का अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेले सम्पूर्ण राष्ट्रवादी शक्तिहरु यो देशलाई बचाउन एकजुट हुनुपर्ने उनले बताए । रवि लामिछानेले चितवनका सोझा÷साझा र इमानदार नागरिकको मत बोरामा ल्याएर ‘तीन जना बा’ को पाउमा लम्पसार परेको उनको आरोप छ । ‘उहाँ (रवि) ले सोझासाझा जनताको मतलाई एउटा बोरामा ल्याउनुभयो । बोरामा ल्याएको मतलाई शेरबहादुर बा, केपी बा र नानीका बा’ को पाउमा लम्पसार परेर उहाँले जनताको मतलाई प्रस्तुत गर्नुभयो,’–उनले भने । साथै, नागरिकता कायम छैन भन्ने थाहा हुँदाहुँदैपनि रविले ‘आईएम रवि’ भन्ने भावनाले जनताको माँझमा भ्रम सिर्जना गरेको उनको आरोप छ । ‘चितवनको जनता झुक्याएर उहाँले उपप्रधानमन्त्री लिनुभयो, विभिन्न मन्त्रीहरु लिनुभयो । त्यत्तिमात्रै गर्नुभएन, उहाँले सोझासाझा चितवनका जनताको मत लगेर आफूले गरेको गल्तीका त्रुटि सच्याउनका लागि साट्नुभयो । अहिले पनि उहाँले त्यही गर्नुभएको छ । रवि लामिछानेले मुकुटो लगाएर सोझासाझ जनतालाई भ्रममा पार्न खोज्नुभएको छ । हामी त्यसलाई पर्दाफास गर्नेछौं,’– उनले भने ।
नागरिक बचाउ महाअभियान र हाम्रो नेपाली पार्टी (लौरो अभियान) बाट चितवन– २ मा साझा उम्मेदवार बनेका शम्भु थापाले रविले दुरुत्साहन मुद्दामा भिडले बचाएपछि अहिले सर्वोच्च अदालतलाई पनि च्यालेन्ज गरेको आरोप लगाए । उनी ‘आई एम रवि’ भन्ने भावनाले प्रस्तुत भएको उनले बताए । ‘चितवन–२ का उम्मेदवार ‘उहाँ दुरूत्साहनको मुद्दामा पर्नुभएको थियो । दुरुत्साहनको मुद्दामा असल केटो हो, बचाउनुपर्छ भनेर त्यहाँका विवेकशील नागरिकले अदालत घेराउ गरेर छुट्कारा दिए । नागरिकता छैन मलाई थाहा छ । तर यो भिडले, यो समाजले बचाउछ भनेर ‘आई एम रवि’ भनेर सर्वोच्च अदालतलाई पनि उहाँले च्यालेन्ज गर्नुभयो । आई एम रवि भन्ने कन्सेप्टले उहाँ जानुभयो,’– उनले भने । रवि लामिछाने सांसद भएपछि उनले चितवनको गरिब नागरिकको पक्षमा काम नगरेको उनको आरोप छ । आगामी उपनिर्वाचनमा त्यहाँबाट आफू निर्वाचित हुनेमा कुनै शंका नरहेको उनको दाबी छ । ‘उहाँले कहिले पनि गरिबहरुको पक्षमा बोल्नुभएन । लघुवित्तको ज्यादतीको पक्षमा बोल्नुभएन । मेरो उम्मेदवारी उहाँहरुको पक्षमा हो । म त्यहाँबाट सांसद भएर जाँदैछु । यो कुरा प्रष्ट हुनुस्,’– उनले भने ।