FLASH NEWS

‘‘सरकारको न्यूनतम साझा कार्यक्रममा हस्ताक्षर गरेका थिएनौं” : चित्रबहादुर केसी


नेपाल आवाज २४ चैत्र २०७९, शुक्रबार १३:३८ मा प्रकाशित १९१५ पाठक संख्या

काठमाडौं- राष्ट्रिय जनमोर्चाले सरकारको न्यूनतम साझा कार्यक्रममा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले हस्ताक्षर नगरेको बताएको छ।


शुक्रबार विज्ञप्ति जारी गर्दै जनमोर्चाका अध्यक्ष केसीले दस दलको तर्फबाट सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रममा आफ्नो बिमती भएपनि प्रधानमन्त्री कार्यालयले हस्ताक्षर राखेकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।

केसीले सरकारको न्यूनतम साझा कार्यक्रममा संघीयता, संक्रमणकालीन न्याय र नागरिकता लगायतका विषयमा जनमोर्चाको गम्भीर मतदभेद रहेको बताए।

त्यसकारण सरकारको न्यूनतम साझा कार्यक्रममा आफूले हस्ताक्षर नगरेको अध्यक्ष केसीले जानकारी दिएका छन्।

हस्ताक्षरका सम्बन्धमा प्रधानमन्त्रीसँग सम्वाद भएको भएपनि न्यूनतम साझा कार्यक्रमका सवालमा नरहेको विज्ञप्तिमा उल्लेख छ।

जनमोर्चाले प्रधानमन्त्री कार्यालयबाट भ्रमबस न्यूनतम साझा कार्याक्रममा अध्यक्ष केसीको हस्ताक्षर परेको जानकारी गराएको छ।

दस दलीय गठबन्धनले बिहीबार सरकारको न्यूनतम साझा कार्यक्रम उल्लेख गरिएको १३ पृष्ठ लामो दस्तावेज सार्वजनिक गरेको थियो। उक्त दस्तावेजमा नेपाली कांग्रेस, माओवादी केन्द्र लगायत १० दलका प्रमुख नेताहरूको हस्ताक्षर छ।

अध्यक्ष केसीद्वारा जारी वक्तव्यः
‘२०७९ चैत्र २३ गते दश दलका प्रमुखहरुको हस्ताक्षर भइ जारी गरिएको सरकारको न्यूनतम साझा कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष का. चित्रबहादुर केसीको डिजिटल हस्ताक्षर रहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

दश दलद्वारा जारी गरिएको सरकारको न्यूनतम साझा कार्यक्रममा संघीयता, संक्रमणकालिन न्याय तथा नागरिकताका लगायतका विषयमा हाम्रो पार्टीका कैयौँ गम्भीर प्रकारका मतभेदहरु छन्।

संघीयता, मानव अधिकारको गम्भीर उल्लंघनकर्ताहरुलाई सजायको दायरामा ल्याउन संक्रमणकालिन न्यायसँग सम्बन्धित ऐनलाई परिमार्जन गर्नुपर्ने, नागरिकता विधेयकमा भएका राष्ट्रघाती प्रावधानका विरुद्ध हामीले लगातार लामो समयदेखि संघर्ष गर्दै आएका छौँ।

विगत पाँच दलीय गठबन्धनको सरकार गठनको क्रममा पनि जारी गरिएको न्यूनतम साझा कार्यक्रमप्रति हामीले त्यही नीति अपनाएका थियौँ। पाँच दलीय सरकारद्वारा जारी गरिएको न्युनतम साझा कार्यक्रममा हामीले हस्ताक्षर गरेका थिएनौँ। अहिले पनि हाम्रो त्यो नीति कायम नै छ।

प्रधानमन्त्री कार्यालयबाट अध्यक्ष चित्रबहादुर केसीको डिजीटल हस्ताक्षर कता राखिएको भन्ने सन्दर्भमा प्रधानमन्त्री र अध्यक्ष चित्रबहादुर केसी बिच सम्वाद भएको सत्य हो। तर त्यो हस्ताक्षर न्यूनतम साझा कार्यक्रमलाई स्वीकृत गर्न उपयोग गर्ने सवालमा भएको होइन। त्यसैले अध्यक्ष का. चित्रबहादुर केसीको हस्ताक्षर भ्रमबस नै न्यूनतम साझा कार्यक्रममा परेको कुरा सम्बद्ध सबैलाई जानकारी गराउँदछु।
२०७९ चैत्र २४ गते
चित्रबहादुर केसी
अध्यक्ष