FLASH NEWS

बाबुराम भन्छन् -एकल आमाका सन्तानलाई मावलीको थर राखेर जन्म दर्ता दिन उर्दी हुनु लज्जास्पद


नेपाल आवाज २४ चैत्र २०७९, शुक्रबार १३:४८ मा प्रकाशित २६५३ पाठक संख्या

काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एकल आमाका सन्तानलाई मावलीको थर राखेर जन्म दर्ता गर्ने उर्दी राज्यका तर्फबाट भएको भए यो भन्दा लज्जास्पद कुरा अरू केही हुन नसक्ने टिप्पणी गरेका छन्।


उनले जन्म दिने आमा भन्दा ठूलो पहिचान र प्रमाण अरू केही नहुने उनको भनाइ छ।

उनले ट्वीटरमा लेखेका छन्, ‘एकल आमाका सन्तानलाई मावलीको थर राखेर जन्म दर्ता गर्ने उर्दी राज्यका तर्फबाट कसैले दिएको सत्य हो भने २१औं शताब्दीमा यो भन्दा लज्जास्पद कुरा अरू केही हुनसक्दैन। जन्म दिने आमा भन्दा ठूलो पहिचान/प्रमाण अरू केही हुन्छ र ? अनि आमाको वा आमाले राखेको थर किन नभन्ने ? बरू थर नै किन चाहिन्छ र?’

उनले आमाको वा आमाले राखेको थर किन नभन्ने? भन्दै प्रश्न गरेका छन्। गृह मन्त्रालयले एकल महिलाले जन्माएको र बाबुको ठेगान नभएका बच्चाको जन्मदर्ता मावलीको थरबाट गर्न सबै वडालाई निर्देशन दिएपछि उनले यस्तो अभिव्यक्ति दिएका हुन्।