FLASH NEWS

वैदेशिक रोजगारीमा ज्यान गुमाएका नेपालीको बिमा रकम ठगी गर्ने गिरोह पक्राउ


नेपाल आवाज २४ चैत्र २०७९, शुक्रबार १५:१२ मा प्रकाशित २०४१ पाठक संख्या

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएका नेपालीले प्राप्त गर्ने बीमा रकम दिलाइदिन्छु भन्दै ठगी गर्ने गिरोह पक्राउ परेको छ ।


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा सर्लाहीका रूद्रमान गोले, प्रकाशबहादुर गोले, रवीन्द्र मोक्तान, विनोदकुमार लामा, डिकबहादुर मल्ल र काभ्रेका रामबहादुर तामाङ छन्। उनीहरुको साथबाट विदेशमा ज्यान गुमाएका व्यक्तिहरुको नागरिकता, राहदानी, जन्म, विवाह र मृत्यु दर्ता, वडा कार्यालयको सिफारिस, बीमा कम्पनीको लेटर प्याड लगायतका महत्त्वपूर्ण कागजात बरामद भएको छ ।

अपराध अनुसन्धान कार्यालयका एसएसपी डा.मनोज केसीका अनुसार वैदेशिक रोजगारीको लागि विदेशमा काम गर्दा गर्दै विविध कारणले मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरूले बीमा बापत पाउने बीमा रकम मृतकका आफन्तहरूलाई दिलाई दिने भन्दै उनीहरुले ठगी गर्ने गरेको खुलेको छ । त्यसबापत उनीहरुले प्रति मृतक ७ लाखसम्म ठगी गरेको खुलेको छ । यसबारे अपराध अनुसन्धान कार्यालयमा उजुरी परेपछि विशेष अनुसन्धान टोलीले उनीहरूको खोजतलास थालेको थियो ।

कार्यालयका प्रमुख एसएसपी मनोज केसीका अनुसार गिरोहका सदस्यहरू विदेशमा मृत्यु भएका व्यक्तिको शव आउने दिन विमानस्थलसम्म पुग्थे र बिमाको रकम उपलब्ध गराइदिने आश्वासन दिन्थे। परिवारका सदस्यलाई उनीहरूले काठमाडौंका होटलमा राख्थे र सबै कागजात आफैंसँग लिएर बिमाको प्रक्रिया अघि बढाउँथे। उनीहरूको निशानामा मधेश प्रदेशका व्यक्तिहरू धेरै हुन्थे।

‘बिमाबापत् कसैले १४ लाख रुपैयाँ पाउने रहेछ भने उनीहरूले ८ लाख जति आफैं राख्ने, बाँकी पैसा मात्र परिवारले दिने गरेको अनुसन्धानबाट खुलेको छ,’ एसएसपी केसीले भने।

यो गिरोहसँग वैदेशिक रोजगार विभागका एक जना नायब सुब्बाको पनि मिलेमतो देखिएको छ। विभागका  सुब्बा पशुपति अधिकारीले कसको शव कहिले आउँदैछ भन्ने जानकारी गिरोहका सदस्यहरूलाई दिन्थे। त्योबापत् यो गिरोहले एक जनाको शव आउँदा अधिकारीलाई २५ हजार रुपैयाँसम्म पैसा दिन्थे। अधिकारीलाई पनि प्रहरीले पक्राउ गरेको केसीले जानकारी दिए।

उनीहरूलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको केसीले बताए ।