FLASH NEWS

इन्डिया र चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन: बालेन साह


नेपाल आवाज २५ चैत्र २०७९, शनिबार १२:४३ मा प्रकाशित २२४५ पाठक संख्या

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले इन्डिया र चाइनाले बनाएको सरकारको कुनै इज्जत नगर्ने बताएका छन् । आज सामाजिक सञ्जालमा आक्रोशित रूपमा अभिव्यक्ति दिइरहेका उनी सरकारमाथि खनिएका हुन् ।


उनले लेखेका छन् इन्डिया र चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन म । नेपाल स्वाधीन कहिले हुने ? आफ्नो अस्तित्व कहिले बनाउने लाज लाग्दैन ?

सरकारले आफूलाई असहयोग गरेको बताउँदै आएका साहले सरकारमाथि पटक-पटक कडा टिप्पणी गर्दै आएका छन् ।यसअघि आजै मेयर साहले सिंहदरबारको फोहोर नउठाउने भन्दै त्यहाँका नेतालाई नै सिसडोलमा फाल्नुपर्ने समय आएको बताएका थिए ।

शुक्रबार गैरीगाउँस्थित बागमती किनारको सुकुमबासी बस्तीमा डोजर चलाउन खोज्दा असहयोगको महसुस गरेका मेयर साहले आजदेखि सिंहदरबारलाई असहयोग गर्ने संकेत गरेका हुन् ।

यसैक्रममा साहले काठमाडौं महानगरपालिका क्षेत्रभित्र सडकपेटी र सडकमा पर्ने प्रहरी बिट भत्काउन आग्रह गरेका छन्।  उनले  नेपाल प्रहरीले नै बाटो मिचेर संरचना बनाउनु गलत भएको बताए। उनले ती संरचना प्रहरीले आफै हटाइदिन आग्रह गरेका छन्। अन्यथा समतामूलक कानूनको प्रयोग गरी संरचना भत्काउन बाध्य हुने चेतावनी उनले दिएका छन्।

उनले महानगरपालिकाभित्र १९ प्रहरी बिटले बाटोमा संरचना बनाएको भन्दै विस्तृत जानकारी पनि आफ्नो सामाजिक सञ्जाल(फेसबूक )मा राखेका छन्। यस्तै उनले  राजदूतावासलगायत विदेशी नियोगका हकमा पनि सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेको पनि बताएका छन्।