FLASH NEWS

हाम्रो सरकार बनेपछि जेल कोच्ने लिष्टमा रहेकाहरु आलोचना गरिरहेका छन्– रवि लामिछाने


नेपाल आवाज २५ चैत्र २०७९, शनिबार १६:३३ मा प्रकाशित २१०७ पाठक संख्या

तनहुँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टहरुले आफूहरुको आलोचना गरिरहेको बताएका छन् । तनहुँको आबुखैरेनीमा पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेलाई मत माग्दै (चुनावी आमसभालाई सम्बोधन गर्दै) लामिछानेले रास्वपाको नेतृत्वमा सरकार बनेपछि जेल कोच्ने लिष्टमा रहेकाहरुले अहिले आलोचना गरिरहेको बताएका हुन् ।


‘हामीलाई आलोचना गर्ने मान्छेहरु र ती मान्छेहरुको चरित्रलाई हेर्छौं । ती मानिसहरुको राजनीतिक इतिहासलाई हेर्छौ । ती त्यस्ता मान्छेहरु हामीलाई प्रश्न गर्छन्, जसलाई हामीले हाम्रो सरकार बन्यो भने भ्रष्टाचारको आरोपमा जेल कोच्ने भनेर लिष्ट बनाइरहेका छौं,’– उनले भने ।

साथै, भ्रष्टाचारीहरुले सोधेको कुनै पनि प्रश्नको जवाफ नदिने उनले बताए । आफू आम सर्वसाधरणले सोधेको प्रश्नको जवाफ जहाँ र जहिले पनि दिन तयार रहेको उनले बताए । भ्रष्टाचारीलाई जवाफ दिन नभएर जेल कोच्न आवश्यक रहेको उनको भनाई छ ।

‘म आमाबुबा, दाजुभाई, दिदीबहिनीहरुले सोध्नु् भएको प्रश्नको जवाफ चोक, गल्ली, भट्टी जहाँ पनि दिन तयार छु । तर, भ्रष्ट मान्छेहरुले सोधेको एउटा पनि जवाफ दिन्न । किन कि तिनलाई त जेल कोच्ने हो,’– उनले भने ।

लामिछानेले मात्र एक सय दिनमा देशको इतिहासले आजसम्म नगरेको परिवर्तन गर्न नसेके राजनीतिबाट सन्यास लिने घोषणा पनि गरेका छन्। सत्ताको नेतृत्व गर्न कार्यकाल भाग लगाइरहेको उल्लेख गर्दै लामिछानेले आफ्नो नेतृत्व भएको सय दिनमा इतिहासमा नभएको परिवर्तनको शंखघोष गर्न नसके आफूले राजनीतिबाट सन्यास लिने घोषणा गरेका हुन्।

बैशाख १० गते हुने तनहुँ–१ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले आफूलाई निर्वाचित गराए अर्को पाँच वर्ष अहिलेजसरी जनताको अगाडि जवाफदेही हुने प्रतिबद्धता जनाएका छन् । उनले भने,‘त्यतिबेला हामी आजका मितिमा गरिएका वाचाहरू पूरा गर्‍यौं भन्न सक्ने अवस्थामा हुनेछौ, तनहुँको विकासका लागि म हरहिसाबले प्रयत्नशील रहने प्रतिबद्धता व्यक्त गर्दछु । दायाँवायाँ तपाईँहरूले नै निर्वाचित गरेका वडाध्यक्ष, मेयर, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षलाई लिएर तनहुँ जिल्लाको विकासको लागि म हरहिसाबले प्रयत्नशील रहन्छु ।’