FLASH NEWS

भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले भेटे प्रधानमन्त्री प्रचण्ड


नेपाल आवाज ५ बैशाख २०८०, मंगलवार २०:१८ मा प्रकाशित २०१७ पाठक संख्या

काठमाडौँ – नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन्।


उनले मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्। भेटमा प्रधानमन्त्रीकाे निकट भविष्यमा हुने भारत भ्रमण र नेपाल र भारतबीचकाे द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएकाे छ।

भेटमा आफूले नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई बधाई दिएको उनले ट्विटरमा उल्लेख गरेका छन्।

सडकमार्ग हुँदै आइतबार साँझ सुदूरपश्चिमको धनगढी आइपुगेका उनी त्यहाँबाट काठमाडौं आएसँगै उच्चस्तरीय भेटवार्तामा व्यस्त बनेका छन्। प्रमुख राजनीतिक दलका शीर्ष नेता र उच्च सरकारी अधिकारीहरूसँग भेटवार्तामा व्यस्त बनेका हुन्।

चौथाइवालेले मंगलबार नै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन्।

भेटपछि सामाजिक सञ्जाल ट्विटरमा लेख्दै चौथाइवालेले तीनै जना नेताहरूले भारत–नेपाल सम्बन्ध बलियो बनाउने र पार्टी–पार्टीबीचको अन्तरक्रियामा जोड दिएको उल्लेख गरेका छन्।

चौथाइवाले सोमबार धनगढीमा आयोजित नेपाल–भारत अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा सहभागी भएका थिए। उक्त कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा. आरजु राणा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी थिए।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी भइरहेकै बेला चौथाइवाले नेपाल भ्रमणमा आएका हुन्। प्रधानमन्त्री प्रचण्ड यसै महिना भारत भ्रमणमा जाने तयारीमा छन्। भ्रमणको मिति भने तय भइसकेको छैन। उनी वैशाख अन्तिम सातातिर भारत भ्रमणमा जाने सम्भावना छ। यसका लागि परराष्ट्र मन्त्रालयले आवयश्यक गृहकार्य सुरु गरेको छ।