FLASH NEWS

उपनिर्वाचन : कुन क्षेत्रमा कति प्रतिशत मत खस्यो ?


नेपाल आवाज १० बैशाख २०८०, आईतवार १८:५९ मा प्रकाशित १९१५ पाठक संख्या

काठमाडौं – देशका तीन जिल्लामा उपनिर्वाचनअन्तर्गत मतदानका लागि निर्धारित समय सकिएको छ । तर, लाइनमा बसेकाहरुले भने मतदान गर्न पाउने भएका छन् ।


निर्वाचन आयोगले तोकेअनुसार चितवन क्षेत्र नम्बर २, बारा क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान भएको हो । तीनै जिल्लामा करिब ६० प्रतिशत मतदान निर्वाचन आयोगले जनाएको ।

केही स्थानमा बाहेक शान्तिपूर्ण मतदान भएको छ । तर, भरतपुर महानगरपालिका-७ स्थित राष्ट्रिय मावि कृष्णपुर र भरतपुर महानगरपालिका ११ स्थित नयाँकिरण माविमा विवादका कारण केही घण्टा मतदान रोकिएको थियो ।

मतदानका क्रममा बारामा छिटफुट घटना भएका छन् । केही मतदान केन्द्रमा धाँधली भएको आरोप लागे पनि त्यहाँ कुनैपनि स्थानमा मतदान रोकिएन । चितवन र बारामा कुनै किसिमको विवाद नभएको निर्वाचन आयोगले जनाएको छ । तनहुँ २ का सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको आयोगले जनाएको छ ।

तनहुँ-१ मा ५१ प्रतिशत मतदान
तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मतदाताले मतदान गरेका छन् । जुन कुल मतदाताको ५१.७० प्रतिशत खसेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यो प्रारम्भिक तथ्यांक हो । यहाँ एक लाख २३ हजार ३ सय ५ मतदाता थिए भने गत मंसिरमा भएको निर्वाचनमा ५४.३६ प्रतिशत अर्थात् ६६ हजार ९६५ खसेको थियो ।

चितवनमा करिब ६० प्रतिशत मतदान
चितवन-२ मा आइतबार भएको उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खसेको छ । चितवन-२ का सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार उक्त निर्वाचन क्षेत्रका कुल ४३ मतदानस्थलमध्ये १८ वटा स्थलमा मतदान सकिएर मतपेटिका सिलबन्दी भएको विवरण आएको छ ।

उनका अनुसार मत खसेको विवरण हेर्दा ६० प्रतिशत हाराहारीमा खसेको अनुमान छ । चितवन-२ मा कुल एक लाख २४ हजार ६९५ मतदाता छन् । मंसिर ४ मा चितवन-२ मा ८४ हजार मत खसेको थियो ।

मतदान सकिएसँगै सबै मतपेटिका संकलन गरेर भरतपुर ल्याउने र सबै पेटिका प्राप्त भएपछि सर्वदलीय बैठक बसेर गणनाबारे निर्णय गरिने आचार्यको भनाई छ ।

चितवनका ४३ मतदानस्थलमध्ये भरतपुर-११ भोजाडको नयाँ किरण मतदानस्थलमा तीन घण्टाजति मतदान रोकिएको थियो । त्यसैगरी भरतपुर-७ को कृष्णपुर मतदानस्थलमा पनि केहीबेर रोकिएको थियो ।

बारा २ मा ६० प्रतिशत मत खसेको अनुमान
उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नम्बर २ मा बेलुका ५ बजेसम्म करिब ६० प्रतिशत मत खसेको अनुमान गरिएको छ ।

बाराका निर्वाचन अधिकृत मुकेश उपाध्यायले शान्तिपूर्ण मतदान भएको र ६० प्रतिशत बढी मत खसेको आफूहरूको अनुमान रहेको बताए । मतदान अधिकृतबाट रुजु भइरहेकाले खसेको प्रतिशतको यकिन तथ्यांक आउन केही समय लाग्ने उनको भनाई छ ।

निर्वाचन अधिकृत उपाध्यायका अनुसार मतगणनाको सम्पूर्ण तयारी पूरा भइसकेको र मतपेटिका संकलन गरिसकेपछि यथाशक्य चाँडो मतगणना सुरु गरिनेछ । मतपेटिका भण्डारपछि सर्वदलीय बैठक राखेर कलैयाको गंगानगरस्थित शैक्षिक तालिम केन्द्रमा मतगणना सुरु गर्ने उनले बताए ।