FLASH NEWS

एमालेकाे आरोप- शान्तिसुरक्षा कायम गर्न सरकार असफल


नेपाल आवाज १५ बैशाख २०८०, शुक्रबार १९:२८ मा प्रकाशित ११८९ पाठक संख्या

काठमाडौं – सरकार देशमा शान्तिसुरक्षा कायम गर्न असफल भएको प्रमुख प्रतिपक्षी नेकपा एमालेले जनाएकाे छ । शुक्रबार एमालेले पत्रकार सम्मेलन गर्दै ‘कोशी प्रदेश’मा एमाले लक्षित आन्दोलन भइरहेको भन्दै सरकारले शान्तिसुरक्षा दिन असफल भएको आरोप लगाएको हो ।


पत्रकार सम्मेलनमा एमालेका उपमहासचिव विष्णु रिमालले आफ्नो नेता तथा कार्यकर्ताको सुरक्षाको जिम्मेवारी आफैैंले लिनुपर्ने अवस्था आएको बताउँदै भने, ‘हरेक दलले आफ्नो नेता तथा कार्यकर्ताको सुरक्षा आफैंले लिनुपर्ने अवस्था आउनु भनेको राज्य र शासन रहँदैन । यो कुरा पनि पहिलेदेखि सरकारलाई भनिसकेका छौं ।’ एमालेको पकड क्षेत्रमा राज्य संरक्षित आतंक सिर्जना गरेर कमजोर बनाउने खोजेको उनको भनाइ छ ।

उनले भने, ‘हामीमा आकस्मिक रुपमा घटना हो कि भनेर ठानेका थियौं तर योजनाबद्ध रुपमा भएको देखियो । यसमा सत्तारुढ दलको कार्यकर्ता संलग्न भएको पाएका छौं ।’

एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुवास नेम्वाङमाथि झापा र इलाममा भएको कार्यक्रममा विरोध प्रदर्शन र अवरोध सिर्जना गर्ने काम भएकाले एमालेले यस्तो आरोप लगाएको हो ।

पत्रकार सम्मेलन सचिव योगेश भट्टराईले कोशी प्रदेशमा भइरहेको आन्दोलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै आगोमा घिउ थप्ने काम गरेको आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्रीले आगोमा घिउ थप्ने काम गरिरहनुभएको छ । पहिलो मुख्यमन्त्रीलाई नामाकरण गर्न सहमति दिनुभयो तर नामाकरणपछि त्यसबाट फिर्ता भएको घोषणा गर्नुभयो ।’

राज्यलाई असफल भएर टाउकोमा टेकेर ढाडमा हान्न खोजेको भट्टराईले टिप्पणी गर्दै भने, ‘कोशी प्रदेशमा प्रचण्डपथ असफल हुन्छ ।’