FLASH NEWS

कपन घटना : लुुटपाटका लागि नीराको हत्या, एक पक्राउ


नेपाल आवाज १७ बैशाख २०८०, आईतवार २१:३२ मा प्रकाशित ९९७ पाठक संख्या

काठमाडौं- काठमाडौंको कपनस्थित सरस्वती नगरमा वैशाख ७ गते भाँडा व्यवसायी ३५ वर्षकी नीरा पाण्डे आचार्यको लुटपाटका लागि हत्या भएको पाइएको छ ।


प्रहरीले लामो अनुसन्धान गरी घटना भएको ११औँ दिनमा आज त्यसको कारणबारे जानकारी गराउँदै लुटपाट गर्ने उद्देश्यले हत्या भएको पाइएको जनाएको छ । यद्यपि थप छानबिना अन्य कारण खुल्न सक्ने प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले जनाएको छ ।

उनको हत्या गरेको आरोपमा शनिबार झापामा पक्राउ परेका विनोद विकलाई प्रहरीको केन्द्रीय अनु्सन्धान ब्यूरोले आज सार्वजनिक पनि गरेको छ । उनी झापा मेचीनगर नगरपालिका–१० घर भइ भक्तपुर नगरपालिका–१ लोकन्थली डेरा गरी बस्दै आएका थिए ।

उनले आफूले नै हत्या गरेको बयान दिएको सिआइवीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार लुटपाटका क्रममा उनले प्रतिकार गरेपछि भाँडा पसलमै भएको चक्कुले शरीरका विभिन्न ठाउँमा घोचेर हत्या गरेका थिए ।

नीरा एक दशक अघिदेखि काठमाडौं महानगरपालिका–६ सरस्वती नगरस्थित निरू किचेन एण्ड गिफ्ट स्वभिनर सञ्चालन गर्दै आउनुभएको थियो । प्रहरीले दिएको जानकारीअनुसार सुरुमा आरोपी विक क्यासिनोमा काम गर्ने गरेको र पछि काठमाडौंमा बाउन्सरको रुपमा जागिर गरेका थिए । जुवा खेल्ने क्रममा ऋण लागेपछि उनी लुटपाटमा संलग्न भएको र त्यही क्रममा नीराको पसलमा पुगेका थिए ।

घटना घटाएर झण्डै एक हप्ता उनी भक्तपुरको लोकन्थलीमा लुकेर बसेका र त्यसपछि झापा गएका पनि प्रहरीले जनाएको छ । उनले घटना घटाएर निराको सुनको सिक्री र काउन्टरमा भएको पैसा लिएर गएका थिए । त्यो सिक्री काठमाडौंको तारकेश्वरस्थित पाथिभरा सुनचाँदी पसलमा धरौटी छाडेर ५५ हजार पैसा लिएर गएको पनि खुलेको छ । हत्याका बेला लगाएको कपडा, जुत्ता तथा झोलासमेत प्रहरीले बरामद गरेको छ ।

उक्त हत्याको अनुसन्धानमा सुरुमा जिल्ला प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धान गरेको थियो । तर त्यो अनुसन्धान निष्कर्षमा पुग्न नसकेपछि सिआइवीका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा उच्चस्तरको समिति गठन गरिएको थियो ।

समितिमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख र जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुखसमेत सहभागीप् हुनुहुन्थ्यो ।

हत्याको दिन पसलमा सामान किन्न भनेर उनी पसलमा पसेका थिए । कुरा गर्न खोज्दा अरु मान्छे पनि आएपछि एटिएमबाट पैसा भिmकेर आउँछु भनेर निस्किएका सिआइवीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापा बताउनुहुन्छ । दोस्रो पटक एक्लै भएको मौका पारेर उनले घटना घटाएका थिए ।

वैशाख ७ गते अपराह्न पसलमा बसिरहेका बेला ३५ वर्षीया नीरा पाण्डे आचार्यको चक्कुले शरीरका विभिन्न अङ्गमा प्रहार गरी हत्या गरिएको थियो । गम्भीर अवस्थामा फेला परेकी उनलाई उपचारका लागि शिक्षण अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

बागलुङ घर भएकी आचार्यले त्यहाँ भाडामा भाँडा पसल गर्दै आउनुभएको थियो । केही मिनेटको दुरीमा रहेको उनको कोठाको तल्लो सटरमा श्रीमानको इलेक्ट्रिोनिक्स पसल समेत रहेको छ ।

त्यसदिन महिला पसलमै एक्लै हुनुहुन्थ्यो । भाँडा पसलको पछाडि काउन्टर थियो । प्रायः पसलमा ग्राहक नआएका बेला उहाँ त्यतै बस्नुहुन्थ्यो । त्यहीबेला उहाँमाथि आक्रमण भएको थियो । पछाडि भएकाले वरपर घटनाबारे थाहा हुन सकेन । सिसी क्यामरा नभएकाले प्रहरीलाई अनुसन्धान गर्न समेत हम्मेहम्मे परेको थियो । पछि वरपरका सिसी क्यामरा हेरेर अध्ययन गरिएको थियो ।

घटनापछि एक जना महिला भाँडा किनेको उधारो तिर्न आउनुभएको थियो । पसलमा उहाँ हुनुहुन्थेन । त्यसपछि नीराको श्रीमानलाई फोन गरेर कोही छैन दोकानमा भन्नुभयो । श्रीमानले पछाडी काउन्टर छ, त्यतै तिर होलिन् भित्र गएर हेर्नु न भनेर जवाफ दिनुभएको थियो ।

भित्र काउन्टर नजिक गएर हेर्दा उनी रक्ताम्मे भएर ढलिरहेकी दखेपछि उहाँले नै प्रहरीमा खबर गर्नुभएको थियो । घटना भएको केही घण्टा अघि उनले लामखुट्टे नियन्त्रण गर्ने व्याटको सामाजिक सञ्जालमा प्रचार गरेको पाइएकाले घटनामा पारिवारिक कारण नभएको प्रहरीले यसअघि नै निष्कर्ष निकालेको थियो ।

यसअघि घटनाका दोषीलाई पत्ता लगाई कारबाही गर्न नसकेको भन्दै स्थानीयले घटनास्थलमा प्रदर्शनसमेत गरेका थिए ।