FLASH NEWS

कांग्रेस नेता चन्द्र भण्डारी स्वदेश फिर्ता, भने- आमा बितेको अहिले थाहा भयो


नेपाल आवाज १७ बैशाख २०८०, आईतवार २१:४६ मा प्रकाशित १६०९ पाठक संख्या

काठमाडौं – ग्यास लिक भएर आगलागी हुँदा जलेर सक्त घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी भारतमा लामो उपचारपछि आज स्वदेश फर्किएका छन् ।


स्वदेश फर्किएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि मात्रै उनले उक्त घटनामा परी आफ्नी आमा गुमाएको खबर पाएका छन् ।

विमानस्थलमा छोटो प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘मैले भर्खर मात्र थाहा पाएँ मेरो आमा हुनुहुँदैन भनेर । म बाँचेर हजुरहरुकोमा आउन पाएँ… हजुरहरुको माया र आशीषले गर्दा । कोही नेपाली अब विदेश जान नपरोस् उपचारका लागि । नेपालमा नै सुविधासम्पन्न अस्पताल बनाउने निर्णय गरोस् सरकारले… त्यसको नेतृत्व म आफैं गर्नेछु ।’

गत फागुन ३ गते बुद्धनगरस्थित आफ्नै घरमा भएको आगलागीको घटनामा परी भण्डारीकी आमाको भने त्यसैबेला उपचारका क्रममा कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा फागुन ४ गते निधन भएको थियो ।

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भण्डारीको उपचार गरिएको थियो । अहिले उनी बोल्ने र हिँड्न सक्ने भएका छन् ।

तर, नेपाल फर्किएपछि पनि उनले घरमा बसेर फिजियोथेरापी गर्नाका साथै पोलेको घाउ ड्रेसिङ गर्न अस्पताल गइरहनुपर्नेछ ।

आगलागीको घटनामा परेका विरामीका लागि नेपालमै सुविधासम्पन्न अस्पतालको व्यवस्था गरिनुपर्ने भन्दै उनले अब त्यसका लागि सरकारलाई दबाब दिने र पैरवी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यदि त्यस्तो अस्पताल निर्माण गर्न सकिए र त्यसमा आफ्नो समेत योगदान रहँदा मात्रै आफ्नी आमाप्रति सच्चा श्रद्धाञ्जली हुने उनले बताएका छन् ।