FLASH NEWS

भ्रष्टाचार नियन्त्रणका लागि नयाँ लडाइँ सुरु,तपाईंहरुको साथ चाहियो : प्रधानमन्त्री


नेपाल आवाज २६ बैशाख २०८०, मंगलवार १९:३२ मा प्रकाशित १८९७ पाठक संख्या

काभ्रे – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको बताउँदै त्यसका निम्ति जनयुद्धको जस्तै साथ पार्टी र आफूलाई चाहिएको बताएका छन् ।


काभ्र जिल्लाको महाभारत गाउँपालिकामा सडक तथा ग्रामिण विद्युतीकरण कार्यक्रमको आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धि बिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने बताए ।

‘त्यसमा पनि तपाईंहरुको हिजोको जस्तो साथ सहयोग आवश्यक छ । म तपाईहरुसँग अपील गर्न चाहन्छु’, उनले भने । उनले आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्व दिएको बताए ।

प्रधानमन्त्रीले भने, ‘अन्यायमा परेकालाई न्याय चाहियो । समानता चाहियो । तिनिहरुलाई पनि अधिकार चाहियो । सामाजिक न्याय भनेको त्यहि हो । सुशासन भनेको हाम्रो देशमा विसंगति, विकृति र भ्रष्टाचारले विकरात रुप लिएको छ । जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन् ।’

उनले जनता सबैको साथ र सहयोगसहितको प्रतिवद्धता भए अबका ५ वर्षमा एउटा रेकर्ड बनाउने उनले विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले लोडसेडिङको युगबाट विद्युत बिक्री गर्ने युगमा आएको बताउँदै आशन्न भारत भ्रमणमा बिद्युत बिक्री र उत्पादनका विषयहरुमा केही नयाँ सहमति सम्झौता हुने स्थिति रहेको बताए । यो सबै नेपालीका निम्ति खुसी र गर्वको कुरा भएको उनको भनाई थियो ।

‘जुनजुन प्रदेश हिजोको राज्यबाट पछाडि पारिएको थियो, म तिनै प्रदेशमा विकास निर्माण गति दिन बढी जोड गरेको छु । म प्रधानमन्त्री भएपछि सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई हिजो सामन्ती राज्यले बढी विभेदमा पार्यो तिनै प्रदेशमा मैले बढी ध्यान दिएको छु । काठमाडौं वरिपरि नै भएपनि हिजोको राज्यसत्ताले पछाडि पारेका क्षेत्रहरु अर्थात पालिकाहरुलाई विकासमा अगाडि ल्याउने हाम्रो प्रतिवद्धता छ । त्यहि प्रतिवद्धता अन्तर्गत नै अबका ५ वर्षमा यो क्षेत्रमा भएको विकास निर्माणले पर्यटकहरु ओहिरिने छन्, प्रधानमनत्री प्रचण्डले भने, ‘हिजोको राज्यले काठमाडौंको यति नजिकै भएर पनि यहाँका नागरिकलाई विकासबाट बञ्चित गरायो । यहाँका नागरिकले कुनै पनि सुविधा पाएनन् । त्यहि असुविधा र विभेद, अपमान र अन्याय विरुद्ध तपाईंहरु आन्दोलन वा क्रान्तिमा लाग्नुभयो । यी क्षेत्र क्रान्तिका आधार इलाका बने । महाभारत र खानीखोला जस्ता विकट गाउँहरु क्रान्ति र परिवर्तनको निम्ति ठूलो भूमिका खेलेको क्षेत्र भएको नाताले गणतन्त्रको घोषणा पछि सबैभन्दो छिटो विकास र सुबिधा पाउने अधिकार यहि क्षेत्रको हो । यो क्षेत्रमा तपाईहरुले पनि आफ्ना विकास प्रेमी जनप्रतिनिधिलाई जिताउनुभयो र मैले पनि यहाँको विकास र निर्माणलाई उच्च प्राथमिकता दिएँ । त्यसैको परिणाम म सबै धेरै पटक आएँ ।’