FLASH NEWS

विदेशबाट फर्किने नेपाली नागरिकलाई २ वटा मोबाइल ल्याउन दिने मन्त्रिपरिषद्को निर्णय


नेपाल आवाज २६ बैशाख २०८०, मंगलवार १९:३९ मा प्रकाशित १८६१ पाठक संख्या

काठमाडौं – सरकारले विदेशबाट फर्किने नेपाली नागरिकलाई दुई थानसम्म मोबाइल ल्याउन दिने भएको छ ।


मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झिटिगुन्टा आदेश संशोधन गरी थप एउटा मोबाइल ल्याउन दिने व्यवस्था गर्ने निर्णय गरेको छ । हाल झिटिगुन्टा आदेशमा विदेशबाट फर्किने नेपाली नागरिकले पूर्ण भन्सार छुटमा एक थान मोबाइल ल्याउन पाउने व्यवस्था छ ।

१५ पुसदेखि मोबाइल भिभाइस म्यानेजमेन्ट सिस्टम (मएमडीएमस) प्रणाली लागु गर्दै विमानस्थल भन्सारले प्रयोग भइरहेको वा नयाँ जुनसुकै फोन एक थान मात्र ल्याउन दिएपछि विवाद भएको थियो । लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालका लागि एमडीएमएस प्रणाली लागु नगर्न निर्देशन दिएका थिए ।

मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली लागु गर्ने र विदेशबाट फर्किने नेपाली नागरिकले थप एक थान (प्रयोग गरिरहेको बाहेक) फोन ल्याउन दिने गरी झिटिगुन्टा आदेश संशोधन गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यस्तै, ढल्केवर वाणगंगा १३२ केभी प्रसारण लाइन निर्माणका लागि जग्गा प्राप्ति गर्ने र प्राविधिक अधिकारी तोक्ने निर्णय भएको छ ।

इसमिट बोर्ड अफ गभर्नेन्स मिटिङमा सहभागीको लागि योजना आयोगको उपाध्यक्ष मिनबहादुर श्रेष्ठलाई स्वीकृति दिने निर्णय भएको पनि उनले जानकारी दिईन् ।

यस्तै, मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गरेको छ । बैठकले नेपाल सरकारका नेपाल कृषि बन सेवा समूहका सहसचिव रेवतीरमण पौडेललाई सचिव पदमा बढुवा गरेको छ । यस्तै,सहकारी सुधारका लागि कार्यदल गठन गरेको छ ।

बैठकले एकै पटक ४४ जना सहसचिवको सरूवा गर्ने निर्णय पनि गरेको छ । सरूवा हुनेमा भर्खरै नियुक्त भएका देखि पुराना सहसचिव रहेको संघीय मामिला मन्त्रालयले जनाएको छ ।