FLASH NEWS

संघीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि सकिन्नः एमाले अध्यक्ष ओली


नेपाल आवाज ३० बैशाख २०८०, शनिबार २१:०६ मा प्रकाशित १११७ पाठक संख्या

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले संघीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसकिने बताएका छन्।


च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार जारी पार्टीको केन्द्रीय कमिटी बैठक समापन गर्दै ओलीले आफ्नो पार्टीले संघीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसकिने बताएका हुन्।

बैठकमा संघीयताको विरोधमा छलफल गरिएको भन्ने बाहिर भ्रमपूर्ण हल्ला चलाइएको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेले त्यस्ता हल्लालाई सम्पूर्ण रुपमा खारेज गर्ने बताएको पार्टी प्रचार–प्रसार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

ओलीले बैठकमा पार्टीको आधिकारिक निर्णय मात्रै बाहिर लैजान पार्टीका केन्द्रीय सदस्यलाई निर्देशनसमेत दिएका थिए। उपप्रमुख रिजालका अनुसार ओलीले बैठकमा आफ्नो पार्टी संविधान निर्माणको नेता पार्टी भएकाले यसका कुनै पनि पिलरलाई हल्लाउने वा चलाउने पक्षमा नरहेको पनि बताए।

ओलीको भनाइ उद्धृत गर्दै प्रचार उपप्रमुख रिजालले भने, ‘हिजोदेखि एउटा हल्ला चलाइएको छ– नेकपा एमालेका चालु केन्द्रीय कमिटी बैठकमा संघीयताबारे बहस सुरु भयो। एमालेले संघीयतामा पुनर्विचार गर्ने भयो। अब एमालेको संघीयता नमान्ने भयो भन्नेजस्ता जुन खालका गलत हल्ला चलेका छन्। यिनलाई अध्यक्ष कमरेडले सम्पूर्ण रुपमा खारेज गर्नुभएको छ।’

बैठकले मिसन ग्रासरुट अभियानबाट प्राप्त सुझावका आधारमा पार्टीको वार्षिक कार्ययोजना पनि तय गरेको छ। जसमा कम्युनिष्ट पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने योजना समावेश छ।

यस्तै, पार्टीका कमिटीहरू भद्दा भएकाले प्रदेशदेखि वडा कमिटीसम्म अधिवेशन गर्ने निर्णय पनि बैठकले गरेको छ ।