FLASH NEWS

सत्ता स्वार्थका लागि कसैसँग एकता र सहकार्य हुन सक्दैन : एमाले अध्यक्ष ओली


नेपाल आवाज ३ जेष्ठ २०८०, बुधबार १३:१४ मा प्रकाशित १६३९ पाठक संख्या

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि कसैसंग एकता र सहकार्य हुन नसक्ने स्पष्ट पारेका छन् ।


बुधबार मदननगर बल्खुमा आयोजित मदन–आश्रित स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिलेको गठबन्धन सरकार प्राप्त गर्नका लागि बनेको भन्दै एमालेले सत्ता स्वार्थका लागि कसैसंग गठबन्धन र एकता नगर्ने स्पष्ट पारेका हुन् ।

उनले अहिलेको गठबन्धन उद्देश्यहीन, गन्तव्यहीन, लक्ष्यबिहीन र नीतिविहीन भएको जिकिर गरे । ओलीले राजनीति अस्थीरता र अराजकताबाट गुज्रिरहेको अवस्थामा सरकार टिकाउने खेलमा मात्रै गठबन्धनको ध्यान केन्द्रीत रहेको आरोप लगाए ।

त्यस्तै अध्यक्ष ओलीले देश अप्ठेरो अवस्थामा पुग्दा पनि लामो इतिहास बोकेको कांग्रेसको भूमिका नदेखिएको भन्दै कांग्रेस पार्टीलाई राजनीतिक संज्ञा दिन पनि मन नलाग्ने अवस्थामा पुगेको बताए ।

ओलीले एमालेले सहि बिचार लिएको र संगठन व्यापक भएपनि संगठनात्मक सुधार आवश्यक रहेको बताए । एकतावद्ध भएर सुदृढ प्रयास अघि बढाए अग्रज नेताहरुले छाडेर गएका अभिभाराहरुलाई पुरा गर्न सकिने बताए ।