FLASH NEWS

अमेरिकी सेना र सरकारका प्रतिनिधिको उपस्थिति बाक्लिन थालेकोमा झलनाथको आपत्ति


नेपाल आवाज ३ जेष्ठ २०८०, बुधबार १३:२३ मा प्रकाशित १२२५ पाठक संख्या

काठमाडौं –  नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र एसपिपी पास गरेसँगै नेपालमा अमेरिकी सेना र सरकारका प्रतिनिधिहरूको उपस्थिति बाक्लिन थालेको भन्दै आपत्ति जनाएका छन्।


बुधवार ३१ औँ मदन-आश्रित स्मृति दिवसको कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले अहिले देश संकटपूर्ण अवस्थामा रहेको र देशमा राजनीतिक अस्थिरता कायम रहेको उल्लेख गरे। उनले नेपाल रेमिट्यान्स आधारित देश बन्न लागेको भन्दै चिन्ता व्यक्त गरे।

पूर्वप्रधानमन्त्री खनालले भने, ‘देश संकटपूर्ण अवस्थाबाट गइरहेको छ। वामपन्थी मिल्ने हो भने सबै ठाउँमा मेजोरिटी हुन्छ। संघ र प्रदेशमा पनि हुन्छ। तर वामपन्थीह नै मिल्न चाहँदैनन्। आश्चर्यको कुरा हो। राजनीतिक अस्थिरताको दिशामा देश छ। अहिलेको संकटपूर्ण अवस्थालाई गम्भीरतापूर्वक लिनुपर्छ। आज हाम्रो देशलाई पश्चिमा शक्तिले आफ्नो खेल भूमि बनाउन खोज्दैछन्। एमसिसी र एसपिपी पास गराएपछि अमेरिकी सेनाका र सरकारका एकपछि अर्को झुण्डहरू नेपालमा आएका छन्। नेपाललाई किन खेल मैदान बनाउन कोसिस गर्दैछन्? हामी अब यसको सामना गर्नुपर्छ।’

उनले नक्कली भूटानी शरणार्थी प्रकरण लज्जास्पद र राष्ट्रघाती भएको बताए। यस प्रकरणमा मुछिनेहरूको संख्या बढ्दै गएको र ठूला नेताहरू पनि पक्राउ पर्दै गएको भन्दै भ्रष्टाचारको काण्डलाई निष्पक्ष रूपमा टुंगोमा पुर्‍याउन आग्रहसमेत गरे।

सम्मानित नेता खनालले ५ वर्ष भन्दा पहिलाका भ्रष्टाचारको अनुसन्धान नहुने गरी विधेयक संशोधन गर्न लागेको भन्दै आफूलाई त्यो मान्य नहुने पनि बताए।