FLASH NEWS

इन्टरपोलको सय वर्षः नेपाल प्रहरीका सइ सगरमाथाको चुचुरोमा


नेपाल आवाज ३ जेष्ठ २०८०, बुधबार २२:३८ मा प्रकाशित १४५३ पाठक संख्या

काठमाडौं – नेपाल प्रहरीका अधिकृतले पहिलोपटक सगरमाथा आरोहण गरेका छन् । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को एक सय वर्ष पुगेको अवसरमा नेपाल प्रहरीका अधिकृतले सगरमाथा आरोहण गरेका छन् । वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीले मंगलबार सगरमाथाको सफल आरोहण गरेको नेपाल प्रहरीले जनाएको छ ।


इन्टरपोलको शताब्दी वर्ष भव्यताका साथ मनाउने कार्यक्रम अन्तर्गत नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्ठ नायव निरीक्षक नेपाली सगरमाथा चुचुरोमा पुग्न सफल भएका हुन् । मंगलबार बिहान १०ः१५ बजे उनले सगरमाथाको सफलतापूर्वक आरोहण गरेको प्रहरीले जनाएको छ । उक्त अवसरमा आरोही नेपालीले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा सहित नेपाल प्रहरी तथा इन्टरपोलको झण्डा फहराएका छन् ।

वरिष्ठ नायव निरीक्षक नेपाली सहितको आरोहण दल २०८० वैशाख २ गते काठमाडौंबाट प्रस्थान गरेको थियो । पहिलो पटक वि.सं. २०३१ सालमा नेपाल प्रहरीको ९ सदस्यीय टोलीले ६९२० मिटर उचाईको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । साथै २०३३ असोज १६ गते नेपाल प्रहरी कर्मचारीको २७ सदस्यीय टोली र २०४१ भदौ २६ गते नेपाल प्रहरी महिला दलको ३१ सदस्यीय टोलीले ६११९ मिटर उचाईको लोबुचे हिमाल सफलातापूर्वक आरोहण गरेका थिए ।

‘यस आरोहणले इन्टरपोलको शताब्दी वर्ष भव्यतापूर्वक मनाईएको सन्देश विश्वसामु प्रवाह हुनुका साथै नेपाल लगायत इन्टरपोलका सदस्य राष्ट्रहरुको अपराधिक कृयाकलापहरु विरुद्ध ऐक्यवद्धता रहेको र नेपाल प्रहरीको यस सफल आरोहणले विश्वभरका पर्वतारोही पर्यटकहरुमा थप सुरक्षाको अनुभूति दिलाउनुका साथै नेपालको पर्यटन प्रवर्द्धन भई अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास लिइएको छ,’ नेपाल प्रहरीको बुलेटिनमा भनिएको छ ।