FLASH NEWS

शरणार्थी प्रकरणमा कुनै पनि शक्तिको दबाबमा दोषीलाई उन्मुक्ति दिदैनौं : प्रधानमन्त्री


नेपाल आवाज ४ जेष्ठ २०८०, बिहीबार १४:४६ मा प्रकाशित १३५७ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली शरणार्थी प्रकरणमा कुनै पनि शक्तिको दबाबमा दोषीलाई उन्मुक्ति नदिइने बताएका छन् ।


प्रतिनिधिसभामा जारी प्रश्नोत्तरका क्रममा सांसद मेटमणी चौधरीको तर्फबाट सांसद शेरबहादुर कुँवरले नक्कली शरणार्थी प्रकरणमा कसैलाई उन्मुक्ति दिने प्रयास त भएको छैन ? भन्ने प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने– ‘नक्कली शरणार्थी प्रकरणमा नेपाल प्रहरीले निष्पक्षताका आधारमा अनुसन्धान गरिरहेको छ । प्रहरीको अनुसन्धानमा कुनैपनि दबाब छैन । यस प्रकरणका कुनै पनि दोषीलाई उन्मुक्ति दिइने छैन ।’

प्रधानमन्त्री प्रचण्डले भीआईपी र भीभीआईपीहरू समेत पक्राउ परिरहेको भन्दै सरकारले दोषी उम्किँदैन, निर्दोष पर्दैन भन्ने नीति लिएको समेत बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले भने– ‘नक्कली शरणार्थी प्रकरणमा कसैलाई पनि उन्मुक्ति दिने काम हुँदैन । कसैको दबाबमा काम हुँदैन । हामी कुनै पनि दोषी नउक्किने र कोही निर्दोष नपर्ने गरी अनुसन्धानमा लागिपरेका छौं । त्यसैले विश्वस्त पार्न चाहन्छु, कसैले उन्मुक्ति पाउने छैनन् ।’